गोरखा — केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका ४ सय ६० घरधुरीमा सोलार जडान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत घरेलु सौर्य ऊर्जा प्रविधि जडान कार्य अन्तरगत २०७६ बाट सुरु भएको सोलार जडानको काम बल्ल अन्तिम चरणमा पुगेको हो ।
चुमनुब्री गाउँपालिका–३ र ६ तथा धार्चे गाउँपालिका–३, ४, ५ ६, ७ मा सोलार जडान भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मिलन पौडेलले बताए । धार्चेमा २३० र चुमनुब्रीमा २३० घरधुरी छनोट गरी सोलार जडान भएको उनले बताए ।
‘सोलार जडानको काम सकिएपछि नवीकरणीय ऊर्जा परीक्षण केन्द्रबाट प्राविधिक देखाएर अनुगमन परीक्षणको काम पनि सम्पन्न भएको छ,’ उनले भने,‘प्राविधिको परीक्षण रिपोर्टका आधारमा ठेकेदारलाई दिनुपर्ने अन्तिम भुक्तानी र सुधार गर्नुपर्ने भए बाँकी काम सम्पन्न गर्ने तर्फ लाग्छौं ।’
कार्यालय र सूर्यरोशनी इन्ड्रस्ट्रियल प्रालिबीच एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी २०७६ असोजमा सम्झौता भएको थियो । तर झन्डै पाँच वर्षपछि सौर्य ऊर्जा प्रविधि जडानको काम अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशको घरेलु सौर्य ऊर्जा प्रविधि जडानसम्बन्धी कार्यविधि-२०७५ अनुसार नै स्थानीय पालिकाले छनोट गरिएका घरधुरीमा सोलार जडान भएको उनले बताए ।
सोलार जडानका लागि ७५ प्रतिशत सरकार र २५ प्रतिशत सम्बन्धित घरधुरीले व्यहोर्नुपर्ने प्रावधान छ । ‘केन्द्रीय प्रसारण लाइन नपुगेको, उज्यालोको लागि कुनै विकल्प नभएको घरधुरी छनौट गरी सोलार जडान भएको छ,’ उनले भने ,‘सोलारका लागि आवश्यक ब्याट्रीसहितका सामग्री नै उपलब्ध भएको छ ।’
७९ लाख ४७ हजारको बजेटबाट सोलार जडान गरिएको हो । गण्डकी प्रदेशमा विद्युतको पहुँच नभएको घरधुरीका नागरिकलाई वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युतको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ उत्तरी गोरखाको दुर्गम क्षेत्र छनौट गरी सोलार जडानको काम सुरु गरिएको थियो ।
