लमजुङ — लमजुङमा बाहिरी तथा छिमेकी जिल्लाबाट बंगुरको काँचो मासु ल्याउन कडाइ गरिएको छ । छिमेकी जिल्लाहरु तनहुँ, कास्की, स्याङ्जाका विभिन्न ठाउँका बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको हो ।
प्रहरीले लमजुङ प्रवेश नाकामा प्रहरी खटाएर यसको निगरानी गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले हालसम्म यो रोग लमजुङका बंगुरमा नदेखिएको र बंगुरपालकलाई क्षति नपुगोस् भनेर निगरानी बढाएको बताए ।
‘सुँगुर–बंगुरमा लाग्ने यो रोग पोहोर–परार लमजुङमा लागेको रहेछ । यो सुँगुर–बंगुरको प्राणघातक रोग रहेछ, सोत्तर पार्दौ रहेछ,’ उनले भने, ‘यहाँको सुँगुर–बंगुरलाई जोगाउन, बंगुरपालकको लगानीलाई जोगाउन हामीले सुँगुर–बंगुर र काँचो मासुमा निगरानी बढाएका छौं ।’
उनले बाहिरी जिल्लामा सुँगुर र बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएकोले यो रोगको समयमै रोकथामका लागि बाहिरी जिल्लाबाट मासु ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्नुपर्ने बताए ।
बंगुर पालक कृषकहरुले आफ्नो फार्ममा जैविक सुरक्षाका विधिहरू अनिवार्य अवलम्बन गर्नुहुन प्रशासनले अनुरोध गरेको छ । रोग प्रभावित जिल्लासँग सिमाना जोडिएका मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका क्षेत्रमा स्थलगत अध्ययन र थप सर्भिलेन्स तथा सचेतना कार्य जारी रहेको समेत प्रशासनले जनाएको छ ।
यो रोग पशुबाट मानिसमा नसरे पनि बंगुर तथा बँदेलमा विषाणुको कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
