रामायण पार्कमा अलपत्र रावणका खुट्टा ।
What you should know
म्याग्दी — खराउ लगाएका बडेमानका खुट्टा ठिङ उभिएको परैबाट देखिन्छ । तर यी खुट्टाको घुडाभन्दा माथिको भाग छैन । अनि यही आकृतिमाथी स–साना बाबुनानीहरु खेलिरहेका भेटिन्छन् । यो दृश्य हो, बेनी नगरपालिका ५ को पछैडाँडा भनिने पुलस्त्य पुलाहाश्रममा बन्न लागेको रावण उद्यानको । अनि यी खुट्टा हुन, उनै रामायणका पात्र, रावणका ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको साझेदारी कार्यक्रमअर्न्तगत ७० प्रतिशत मन्त्रालय र ३० प्रतिशत खर्च गर्ने गरी बेनी नगरपालिकाले ब्यहोर्ने गरी यो उद्यानको निर्माण सुरु भएको थियो । यहाँ ६ मिटर अग्लो राख्ने योजना अनुरुप रावणका खुट्टा ल्याएर राखिएको थियो । तर रावणको खुट्टा राख्नेवित्तिकै विवाद सुरु भयो । ऋषीहरुको तपस्या गरेको देवभूमिमा ‘असुर राजा’को मूर्ति राख्न नहुने भन्दै पर्वत पाङ्गका केदारनाथ दासले २०८१ असार १८ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरे । सर्वोच्चले तत्काल निर्माणको काम रोक्नु भन्दै अन्तरिम आदेश जारी गरेपछि काम अलपत्र पर्यो ।
रामायण पार्क निर्माण गर्न पर्यटन मन्त्रालयले २ करोड ११ लाख र वेनी नगरपालिकाले १ करोड १४ गरी कुल ३ करोड २५ लाख लागत राख्ने सहमती भएको देखिन्छ । जस अनुसार २०७९ जेठ भित्र निर्माण सक्नेगरी २०७७ सालमा धर्म एस. कास्यप जेभी कलंकी काठमाण्डौले १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर निर्माणाधिन पार्क कानुनी उल्झनमा फसेपछि चार वर्षदेखी निर्माण अलपत्र छ ।
बेनी नगरपालिकाका अनुसार रावणका खुट्टा बाहेक अरु भाग पनि तयार भईसकेको छ । कम्मर, हात र १० वटा टाउकाहरु ललितपुरको एक मुर्ती कारखानामा तयारी अवस्थामा रहेपनि विवाद पछि ल्याउन नसकिएको मेयर सुरत केसीले बताए । उनले मुर्तीको बिषयमा विवाद भएपछि पार्कभीत्रका अनय संरचनामा काम गरिरहेको बताउँदै भने, ‘आगामी वैशाख ६ गते सर्वोच्च अदालतको फुलकोर्टमा रावणको मुर्ती राख्ने नराख्ने बिषयमा फैसला हुने गरी पेशी चढेको जानकारी आएकोले प्रतिक्षामा छौं ।’ मेयर केसीले पर्यटन मन्त्रालयबाट साझेदारी बजेट हाल रोकिएको पनि बताए ।
यहाँ पार्कसहित अन्य संरचना निर्माण गर्नका लागि पुलस्त्य पुलह क्षेत्र विकास कोष नै गठन भएको छ । पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँले ‘रावण पार्क निर्माण थालनी भएसँगै नगरपालिकाले पहुँच मार्गको स्तर उन्नत गर्ने, कालोपत्रे गर्न काम गरिरहेकै बेला कानूनी उल्झन आएको बताए ।
पुलाश्रमस्थित शिव तथा पुलहऋषि मन्दीरका पुजारी जगदीश सुवेदीले रामलाई पुज्ने समाजमा रावणको मूर्ति राख्ने र पार्क बनाउने कुरा कसैलाई असहज लाग्न सक्ने बताउँदै रावणको जन्मथलोको संरक्षण र पर्यटकीय थलोको रुपमा प्रर्वद्धन गरिनु नराम्रो कुरा नभएको तर्क सुनाए ।
