बाँझो बारीमा ओखर खेतीको लहर

स्थानीय तहले बाँझो जमिनको उपयोगमा २० हजारभन्दा बढी ओखर लगाइसके

फाल्गुन ११, २०८१

प्रकाश बराल

A wave of walnut cultivation in barren fields

बागलुङ — नवप्रवर्तनका कार्यक्रम, व्यावसायिक उत्पादन र कृषि पर्यटनका समेत नारा दिएर बागलुङमा ओखर खेती विस्तार भइरहेको छ । पालिकाले पछिल्लो समय बाँझो जमिनको उपयोगमा २० हजारभन्दा बढी ओखर लगाइसकेका छन् ।

पछिल्लो तीन वर्षमा ती बिरुवा लगाइएका हुन् । एक हजार ६ सयदेखि ३ हजार मिटरसम्म उत्पादन गर्न सकिने ओखरका बिरुवा पालिकाहरूले आफ्नो क्षेत्रमा विस्तार गरिरहेका छन् । किसानले पनि बाँझो बनेको जमिनमा ओखर खेती गर्न रुचाएका छन् ।

‘नियमित बसोबास नगरेका, खेती छाडेकाले झाडी बन्न थालेका स्थानमा ओखरको माग बढेको छ,’ बागलुङ नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले भनिन्, ‘छिट्टै उत्पादन दिने जातको बिरुवा लगाएर किसानले फाइदा पनि लिन सक्छन् ।’

पालिकाले किसानलाई बिरुवामा ५० प्रतिशतसम्म अनुदान दिएका छन् भने कतिपय व्यवसायीले आफैं पनि कृषि प्राविधिकको सिफारिसमा बिरुवा ल्याएका छन् । बागलुङ नगरपालिकाले वडा ७ र ९ मा ५ हजारभन्दा बढी बिरुवा लगाएको छ ।

जैमिनी नगरपालिकाले वडा नं ३ मा ३ हजारभन्दा बढी बिरुवा रोपेको छ । गलकोट नगरपालिकाले वडा १, ४ र १० मा गरी १२ हजार बिरुवा लगाएको छ । गलकोटमा लगाइएका बिरुवा टर्कीबाट झिकाइएका हुन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा भने जुम्लाबाट ल्याइएका दाँते ‘थिनसेल’ जातका ओखर हुन् । ती ओखर राम्रोसँग हुर्काउन सके चारदेखि पाँच वर्षमा उत्पादन दिन थाल्नेछन् ।

तित्याङस्थित जुरे ढुंगा कृषक समूहले चालु वर्षमा १ सय ४० रोपनी जमिनमा १ हजार ५ सय बिरुवा लगाउन नगर कृषि शाखाको समन्वयमा बिरुवा झिकाएको समूहका अध्यक्ष लीलाबहादुर खड्काले बताए । ती बिरुवाका लागि नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी गरेको हो । समूहले स्थानीय किसानको जग्गा एकीकृत गरेर ओखर खेतीका लागि तयारी गरेको हो ।

बसाइँसराइले पहाडका बस्ती रित्तो बन्दै गएपछि किसानले उजाडिएको बारी र जंगल फाँडेर ओखर खेती गरेका हुन् । ‘थिनसेल’ जातको ओखरका बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट झिकाइएको बागलुङ नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जनाइन् ।

‘हाल रोप्न तयार पारिएको स्थान १ हजार ७ सयदेखि २ हजार मिटर उचाइमा छ, त्यसैले सोही प्रकृतिको बिरुवा मगाएका हौं,’ बरुवालले भनिन्, ‘नगदे बालीका रूपमा विकास भएकाले किसानको रोजाइमा ओखर पर्दै गएको छ ।’ चालु वर्ष नगरपालिकाले विनियोजन गरेको १२ लाख रुपैयाँबाट साझेदारीमा ‘रोप्नक’ बिरुवा झिकाइएको हो । ३ सय २० रुपैयाँ पर्ने बिरुवा किसानले १ सय ६० मा पाउनेछन् ।

वडा ९ मा यसअघि पनि ओखरको व्यावसायिक खेती भइरहेको अध्यक्ष राजु थापाले बताए । यसअघि नगरपालिकाको सामान्य सहयोग र प्राविधिक सहायता लिएर स्थानीय कृष्णबहादुर खड्का र देवबहादुर खड्का मिलेर ४ हजार ओखरका बिरुवा रोपिसकेका छन् ।

नगरपालिकाले तित्याङको डोयलाई पर्यटकीयस्थल बनाउने गरी ‘ब्लुहित पर्यटकीय क्षेत्र’ अभियान चलाइसकेको छ । उक्त स्थानकै नजिकमा सुरु भएको ओखर खेतीले बजार विस्तारमा पनि सहजीकरण हुने किसानको आशा छ ।

गलकोट नगरपालिकाले पनि उत्पादन आउन थालेपछि बजारीकरणमा पनि किसानलाई जोड्ने तयारी गरेको नगरप्रमुख भरत शर्मा गैरेले जनाए । ‘नवप्रवर्द्धन कार्यक्रम भएकाले किसानले तत्काल फाइदा कमाउनुपर्छ भन्ने सोच छ,’ गैरेले भने, ‘बजारमा माग पनि भएकाले व्यवसायीसँग जोड्नासाथ किसानले सहजै बिक्री गर्न सक्नेछन् ।’

चालु आर्थिक वर्षमै बागलुङ नगरपालिका–७ स्थित सूर्यनन्द एकीकृत कृषि फर्मले पनि ओखरको माग गरेको बरुवालले बताइन् । त्यसबाहेक चालु वर्ष नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमै मौरीसहितका ५८ घार वितरण गर्न लागेको हो । ७ हजार ७ सयमा एक घार पाइनेमा किसानले त्यसको आधा मात्र मूल्य तिर्नुपर्नेछ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully