तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरा सडक खण्ड एक महिनाका लागि आंशिक रुपमा बन्द हुने भएको छ ।
चुनपहरास्थित सडक निर्माणको कार्यलाई तीव्रता दिनको लागि फागुन ९ गतेदेखि चैत ९ गतेसम्मका लागि सडक आंशिक रुपमा बन्द गर्न लागिएको हो ।
यातायात व्यवस्था कार्यालय विमलनगरदेखि नयाँ पुलसम्मको करिब ५ सय मिटर सडक खण्ड आवश्यकता अनुसार समय–समयमा ४५ देखि एक घन्टाको लागि बन्द गरिने आयोजनाले जनाएको छ । सडक बन्द गरिने हुँदा साना सवारीसाधन तथा मोटरसाइकलहरुले वैकल्पिक मार्ग विमलनगर–मर्स्याङ्दीपुल–कुमल गाउँ–नयाँ पुल को बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।
यस्तै, ठूला सवारी साधनहरुले सवारी रोक्दा, सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्न आयोजनाले अनुरोध गरेको छ ।
