मनाङको तिमाङ जंगलमा लागेको डढेलो ३ सातापछि नियन्त्रणमा

फाल्गुन ८, २०८१

आश गुरुङ

The fire in Timang forest in Manang is under control after 3 weeks

मनाङ — हिउँ पर्ने समय माघको आधाआधीमा जंगल निकै सुक्खा थियो । पानीसमेत परेको थिएन । दिउँसोदेखि हावाहुरी चल्थ्यो ।

त्यही समय माघ १९ गते मनाङको चामे गाउँपालिका-१ मा पर्ने तिमाङ गाउँबाट माथिल्लो क्षेत्रमा देखिने जंगलमा डढेलो लाग्यो । उक्त क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षितभित्र पर्छ ।

संरक्षिण क्षेत्रको डढेलो मनाङ प्रशासन, एक्याप, जनप्रतिनिधि र स्थानीयले तत्कालै निभाउन सक्ने अवस्था थिएन । भिरालो, अप्ठ्यारो, खोंच तथा डाँडाकाँडा कुहिरोले ढाकेझैं धुवाँको मुस्लोले ढाकियो । बढी चल्ने हावाहुरीले डढेलो मानवबस्तीमा फैलिने जोखिम उत्तिकै थियो ।

सबैको चिन्ताको विषय बनेको डढेलो करिब ३ सातापछि नियन्त्रणमा आएको छ ।

पुस–माघमा मनाङको तल्लो मनाङको दानक्यु (२,२०० मिटर) समेत हिउँले ढाकिन्थ्यो । तिमाङ गाउँ (२,६५० मिटर) सेताम्ये भएर मानिसको आवतजावत रोकिन्थ्यो । यस्तोमा करिब ३ हजार मिटरमाथि जंगलमा फैलिएको आगोले स्थानीयमा चिन्ता थपेको थियो । सबैको प्रयास र प्रकृतिको साथले डढेलो निभेको वडाअध्यक्ष खड्गजंग गुरुङले बताए ।

सुरक्षा निकाय र स्थानीयको प्रयासका साथै मौसममा आएको बदलीले आगलागी नियन्त्रणमा आएको स्थानीयको भनाइ छ । तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङका अनुसार गाउँमाथिका डाँडोमा लागेको डढेलो निभिसकेको छ । ‘विद्यालयबाट हेर्दा पूरै जंगल नै डढेकोजस्तो देखिने । अहिले डढेलो रोकिएर माथि डाँडामा हिउँ देखिएको छ,’ उनले भने, 'हामी गाउँले सबै दिनैजसो निभाउन जान्थ्यौं । सेना, प्रहरी पनि खटिन्थे । हामीले अग्निरेखा कोर्‍यौं । केही दिनयता मौसममा पनि बदली छ । आगो अहिले निभेको छ ।’

तिमाङ जंगलमा साउन १९ गतेदेखि आगो फैलिएकामा अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । उनका अनुसार सुरक्षा निकायको अथक प्रयास, नागरिकको सहयोगले आगो नियन्त्रणमा आएको हो । ‘अहिले डढेलो लागेको ठाउँमा हल्का हिउँ परेको छ, पानी पनि परेको छ । धुवाँ कतै देखिएको छैन,’ उनले भने । सुरक्षाकर्मीले आगो निभाउनुका साथै मौसम बदली भएर पानी र हिउँ पर्न थालेपछि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको उनले बताए । उनका अनुसार डढेलोले करिब १२ हेक्टर क्षेत्रफलमा क्षति गरेको अनुमान गरिएको छ ।

एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार डढेलोले मानवीय क्षति नभएपछि वन्यजन्तु, पन्छीका गुँड तथा बासास्थानमा क्षति पुगेको छ । रुखबिरुवा र जडिबुटी नष्ट भएका छन् । 

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully