मनाङका हिउँ पर्ने वनमा डढेलो

फाल्गुन ३, २०८१

आश गुरुङ

Fire in the snowy forest of Manang

लमजुङ — हिमाली जिल्ला मनाङमा यो समय हिउँ परेर डाँडाकाँडामात्रै होइन, बस्ती पनि ढाकिने समय हो । विगत वर्षमा हिउँले सेताम्ये हुने चामे गाउँपालिका-१, तिमाङ माथिको जंगल अहिले डढेलो लागेर कालो भएको छ ।

हिमपातको समय पुस–माघमा तल्लो मनाङको दानक्यु (२२०० मि.) समेत हिउँले ढाकिन्थ्यो तिमाङ गाउँ (२६५० मि.) सेताम्ये भएर मानिसको आवतजावतलाई समेत प्रभावित बनाउँथ्यो । 

माथिका जंगल अनि जंगलका रुखबिरुवाको पात पुरै हिउँले भरिएको हुन्थ्यो । डाँडाकाँडा हिउँले ढाकिएर हिमालजस्तै देखिन्थ्यो । यसपटक भने फागुनको सुरुवाती समयमा पनि हिउँ पर्न सकेन ।

‘पोहर–परार हिउँले ढाकिरहने ठाउँमा अहिले डढेलोले ढाकेको छ । स्वच्छ हावा बगिरहने ठाउँमा अहिले तुवाँलो लागेको छ’ चामे गाउँपालिका-१ का वडाअध्यक्ष खड्गबहादुर गुरुङले भने, ‘यसवर्ष हिउँ परेन । हिउँ पर्ने समयमा डढेलो लागेको छ ।’

उनका अनुसार माघ १९ गतेदेखि जंगलमा डढेलो लागेको हो । केही दिनअघि परेको सामान्य हिउँ र पानीले धेरैजसो डढेलो निभाए पनि पूर्ण रुपमा निभाउन भने सकेको छैन । ‘हामी दिनदिनै गएर निभाउने गरेका छौं । मान्छे जान नसक्ने ठाउँका डढेलो कसरी निभाउने ? डाँडाकाँडा र खोँचका मुढाहरुमा अझै आगो छ । हिउँ र पानीले पनि निभाउन सकेन,' उनले भने ।

यो जंगल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्छ । करिव ३ हजार मिटर उचाइ बढीको क्षेत्रका फैलिएको डढेलोले रुखबिरुवा, जडिबुटी, चराचुरुंगीको गुँड, बासास्थानहरु नष्ट भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए ।

‘जंगलभित्र अझै डढेलो छ । पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । हिउँ र पानी पर्ने, हावाहुरी नचल्ने भएमा आगो सायद केही दिनमा निभ्ला । रुखका ठूला–ठूला काठमा अझै आगो छ,’ उनले भने । ‘पोहर–परार यतिबेला यो जंगल हिउँले ढाकिएको थियो । अहिले वरपर हिउँ हुने ठाउँसमेत कालो देखिएको छ,’ उनले भने ।

उनका अनुसार मनाङमा सवैभन्दा बढी पानी यही क्षेत्रमा पर्छ । हिमपातको समय बढी हिउँ जम्ने क्षेत्र पनि यही हो । उनका अनुसार ३ साताअघि नासों गाउँपालिका-१, घेराङ गाउँ नजिकै लागेको डढेलो ४–५ दिनमा आफैं निभेको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी नरेश कुमार सिंहका अनुसार डढेलोबाट बस्तीमा हालसम्म समस्या छैन । ‘वाटर व्याग र स्प्रेयर’ लगेर आगो निभाएको उनले बताए । ‘मानिस जान सक्ने र मिल्ने ठाउँसम्म हामी पुगेका छौं । हामीले अग्नीरेखा कोरेर डढेलोलाई रोक्ने प्रयास गरेका छौं,' उनले भने ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार डढेलो लागेको दिनदेखि स्थानीयवासिन्दाको साथमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन र एक्यापका कर्मचारीले आगो निभाउने प्रयास गरिरहेको छ ।

‘केही दिनअघि हल्का हिउँ पर्‍यो, पानी आयो । पुरै निभाउन भने सकेन । अहिले डढेलो केही नियन्त्रणमा छ । खोंच र डाँडाका ठूला रुखमा आगो अझै छ । हावाहुरी धेरै भएमा फैलिन सक्ने जोखिम छ । तर, पहिलेको भन्दा धेरै कम छ,’ उनले भने । करिब २ साताको अवधिमा १२ हेक्टर जति क्षेत्रफलमा डढेलो फैलिएको उनले अनुमान गरे ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully