खेतमा छर्नुअघि मकैको बिहे!

फाल्गुन ३, २०८१

हरिराम उप्रेती

Corn wedding before sowing in the field!

गोरखा — यसवर्ष पनि धार्चे गाउँपालिका–४ लाप्राकमा खेतमा छर्नुअघि ‘मकैको बिहे’ गरिएको छ । शुक्रबार गाउँले भेला भएर मकैको बिहे गरेका हुन् । 

लाप्राकमा मकैको बिहे नगरी मकै छर्न नहुने प्रचलन रहँदै आएको छ । लाप्राकमा मकैको बिहेको तयारी बिहीबार साँझबाटै सुरु भएको थियो । साइत अनुसार बिहीबार साँझ जमिन मुनी मकैको घोगा गाडेर शुक्रबार बिहान निकालेपछि मकैको बिहे सुरु भएको लाप्राकका स्थानीय विसबहादुर गुरुङले बताए । ‘मकैको घोगा गाडेपछि वारना सुरु हुन्छ, गाउँभरी ढिकी–जाँतो नचलाउने परम्परा छ,’ उनले भने । 

बाजागाजासहित गाउँलेहरु भेला भएर लाप्राक पुरानो गाउँबाट पोरा भन्ने ठाउँसम्म जन्ती गएका थिए । जन्ती गएका स्थानीयले गाउँको परिक्रमा पनि गरे । जैसी (ज्योतिष)ले घडी–पला हेरेर जुराएको साइतमा मकै गाड्ने, निकाल्ने, बाजागाजा बजाउने, जन्ती जाने प्रचलन छ । 

घाटु नाचेर शुक्रबार साँझ नै मकैको बिहे सम्पन्न भएको गुरुङले बताए । मकैको बिहेका लागि गाउँलेहरुले मकै जम्मा गर्छन् । प्रत्येक घरबाट जम्मा भएको मकैको खाजा तथा प्रसादको रुपमा ग्रहण गर्छन् । उक्त मकैलाई चोख्याउने र बीउ राखेको मकैमा लगेर मिसाइन्छ । 

‘साइत निकालेर बिहे सम्पन्न भयो, अब १२/१३ देखि मकै छर्न सुरु हुन्छ,’ उनले भने । यसरी मकैको बिहे गर्दा बालीनाली राम्रो हुने स्थानीयको मान्यता छ । ‘यो हाम्रो आत्मविश्वास हो, यसरी मकैको बिहे गरेपछि किरा फट्याङ्ग्रा लाग्दैन, बाली राम्रो हुन्छ,’ उनले भने ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully