विद्यार्थीलाई परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

फाल्गुन १, २०८१

प्रतीक्षा काफ्ले

Senior citizens teaching traditional skills to students

स्याङ्जा — स्याङ्जाको आँधीखोला गाउँपालिका–५ स्थित गोगनपानी आधारभूत विद्यालयका विद्यार्थीलाई यतिबेला बाबियो र प्लास्टिकका चकटी, कुचो र मुढा बनाउन भ्याइनभ्याइ छ । स्थानीय ज्येष्ठ नागरिकले ती विद्यार्थीलाई परम्परागत सीप सिकाएका हुन् ।

स्थानीय जौमाया पौडेल भन्छिन्, ‘आजकलका केटाकेटीले कुचो के हो ? चकटी के हो ? कसरी बनाउने ? भन्ने थाहै छैन । केबाट बन्छ भन्ने पनि जान्दैनन् । त्यसैले अब विद्यालयबाटै पुराना सीपलाई पनि अभ्यास गराउन जरुरी छ ।’ उनले सीप हस्तान्तरण गर्न पनि बेलाबेला प्रत्येक विद्यालयमा (हप्ता वा महिनैपिच्छे) यस्ता कार्यक्रम राख्नुपर्ने बताइन् ।

Senior citizens teaching traditional skills to studentsसामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा विद्यार्थी र स्थानीय युवालाई मकैको खोस्टा र प्लास्टिकबाट चकटी बनाउन, बाबियोको कुचो तथा बाँसबाट मुढा बनाउन सिकाइएको थियो । विद्यार्थीले चाउचाउ र बिस्कुटका खोलबाट समेत चकटी बनाउन सिकेका छन् । यसले वातावरण प्रदूषण घटाउनसमेत सहयोग पुग्ने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन शर्माले बताए ।

‘विद्यार्थीसँगै युवालाई पनि परम्परागत सीप सिकाउन आवश्यक छ,’ उनले भने, ‘अब शिक्षा घोकन्ते मात्र नभई प्रयोगात्मक पनि गराउनुपर्छ भनेर कार्यालयबाटै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । ज्येष्ठ नागरिकसँग विभिन्न ज्ञान, सीप र अनुभव छ । उहाँहरूको सीपलाई अन्तरपुस्ता हस्तान्तरण गर्दै लैजानुपर्छ ।’ उनले वातावरण प्रदूषणलाई रोक्न काम नलाग्ने प्लास्टिकबाट दैनिक प्रयोग हुने समग्री बनाउनु महत्त्वपूर्ण सुरुवात भएको बताए । 

Senior citizens teaching traditional skills to studentsविद्यालयका प्रध्यानाध्यापक ख्यामनारायण लामिछाने पहिलोपटक नयाँ कार्यक्रम सञ्चालन गर्दा स्थानीयबासी, युवा, विद्यार्थी सबैजना उत्सासहित रहेको बताउँदै आगामी दिनमा यस्ता प्रयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

आँधीखोला–५ का वडाध्यक्ष कृष्ण पनेरुले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकको सम्मान र बालबलिकालाई सदाचारिता र अनुशासित बनाउन मद्दत पुग्ने बताए । ‘फिल्डमा अभ्यास गरिने कार्यक्रमबाट विद्यार्थी हरेक क्षेत्रमा सक्षम हुन्छन्,’ उनले भने, ‘व्यवहारिक शिक्षा हासिल गर्न सहयोग पुग्छ ।’

Senior citizens teaching traditional skills to studentsआँधीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटाले छोटो समयमा विभिन्न क्षेत्रको सीप हासिल गर्न विद्यार्थी सक्षम रहेको भन्दै विद्यार्थीको प्रशंसा गरिन् । 

प्रतीक्षा काफ्ले

Link copied successfully