कुमारी सहकारीमा १ अर्ब ४९ करोड हिनामिना

म्याग्दीका एमाले नेता राजकुमार थापालाई फेरि एक साता थुनामा राख्न आदेश

माघ २८, २०८१

नारायण शर्मा

1 billion 49 crore embezzlement in Kumari Cooperative

पोखरा — म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रकम हिनामिना गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका म्याग्दी एमाले नेता राजकुमार थापालाई जिल्ला अदालत म्याग्दीले सोमबार फेरि एक साता थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ ।

जिल्ला अदालतका स्रेस्तेदार भोलाराज रेग्मीका अनुसार सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरी हिरासतमा राखेर थापासहित ५ जनामाथि अनुसन्धान भइरहेको छ । जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितको इजलासले सोमबार थापासहितका ५ जनालाई तेस्रो पटक ७ दिन म्याद थप गरेर अनुसन्धान गर्न आदेश गरेको हो । उनैले यसअघि ३ र ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेका थिए ।

सोमबार तेस्रो पटक थप ७ दिनको म्याद दिइएको हो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहेका एमाले नेता थापाको मुख्य योजनामा कुमारी सहकारीका बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ । थापाले सहकारीमा रहेको सर्वसाधारणको बचत आफूखुसी झिकेर निजी स्कुल , घरजग्गा कारोबार , जग्गा प्लटिङमा लगानी गरेको छानबिन प्रतिवेदनमा औँल्याइएको छ ।

 सहकारीमा अनियमितता गरेको ठहर भएको एक वर्षपछि उनी पक्राउ परेका हुन् । राजनैतिक पहुँचका आधारमा उनले उन्मुक्ति पाउँदै आएका थिए ।

उनीसँगै सहकारी ठगीमा मुछिएका तत्कालीन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पूर्वअध्यक्षहरू मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, सञ्चालक देवीकुमारी थापा प्रहरी हिरासतमा छन् ।

थापाको मुख्य योजनामा उनीहरूले समेत सहकारीको एक अर्ब ४९ करोड हिनामिना गरेर सर्वसाधारणलाई रुवावासी गराएका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको पत्रका आधारमा प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो । ४३ सय ८६ जना बचतकर्ता रहेको यो सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य रहेका छन् । रकम हिनामिनामा संलग्न भएकाहरूले बहुमत सेयर आफ्नो र परिवारको नाममा राखेर सर्वसाधारण बचतकर्ताको रकम हिनामिना गरेको पाइएको छ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully