भूपू गोर्खा सैनिकका परिवारसँग बेलायती राजकुमारको भलाकुसारी 

माघ २५, २०८१

दीपक परियार

Bhupu Gurkha soldier's family visit by British prince

पोखरा — नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी पत्नी सोफी बिहीबार दिउँसो पोखरा पुगे । सेनाको जहाजबाट अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै एडवार्ड दम्पती पोखराको बुद्धचोकमा रहेको गोर्खा वेल्फेयर ट्रस्टको कार्यालयमा पुगे । ट्रस्टले सञ्चालन गरेको आवासगृहमा आश्रित भूतपूर्व गोर्खा सैनिकका विधवासँग भलाकुसारी गरे ।

राजकुमारले विधवाका श्रीमान् कहाँ लडेको, कहाँ–कहाँ सेवा गरेको भन्ने बुझ्न चाहे । गोर्खा वेल्फेयर कार्यालयले दिइरहेको सेवा सुविधाका बारेमा केही गुनासो पो छ कि भनेर बुझ्न खोजे । आवासगृहमा विगत १४ वर्षदेखि बसिरहेकी ८८ वर्षीया पदमकुमारी सुनुवारले आफ्ना कुरा राजकुमारलाई सुनाइन् । 

कान कम सुन्ने, ह्विलचियरको सहारामा हिँडडुल गर्नुपर्ने पदमकुमारीका कुरा एडवार्डले गम्भीरताका साथ सुने । राजकुमार नेपाल आउँदा श्रीमान्‌ले भेट्न नपाएको थकथकी उनले पोखिन् । ‘लडाइँबाट घर आउँदा यहाँबाट गोली छिरेर यहाँ निस्किएथ्यो,’ आफ्नो देब्रे साप्रातिर देखाउँदै उनले भनिन्, ‘यहाँ (दाहिने साप्रा)को छाला निकालेर यहाँ (देब्रे साप्रा) हालेको थियो । अहिले त मरिसके । नमरेको भए यहाँ आउन पाउँथे ।’ पदमकुमारीको कुरा सुनेपछि राजकुमार दम्पतीले गोर्खालीले धेरै राम्रो काम गरेको भन्दै पटक–पटक धन्यवाद दिइरहे ।

Bhupu Gurkha soldier's family visit by British prince

ओखलढुंगाकी पदमकुमारीका श्रीमान् भक्तबहादुरलाई बेलायतले सन् १९६३ देखि १९६६ सम्म इन्डोनेसियासँग लडाइँ गर्दा भर्ती गरेको थियो । लडाइँ बेलायतले जित्यो । १० जीआरमा रहेका भक्तबहादुरले पूरा अवधि सेवा गर्न पाएनन् । बेलायतले पेन्सन पठायो । सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएपछि पनि बेलायतको अन्य देशसँग लडाइँ चलिरहेकै थियो । 

बेलायतले लडाइँ हुने बेलामा भर्ती गर्ने र सकिएपछि घर पठाउने गर्थ्यो । नेपाली भूतपूर्व गोर्खा सैनिक पेन्सन बिनै घर फर्कन बाध्य भए । त्यसपछि पनि चरणबद्ध लडाइँ भए । त्यसमा समावेश भएकालाई पनि पूरा पेन्सन दिइएन । त्यो नपाएकामध्ये भक्तबहादुर पनि एक थिए । 

त्यसरी नेपाल फर्किएका भूतपूर्व गोर्खा सैनिकका लागि बेलायतले गोर्खा वेल्फेयर ट्रस्टमार्फत कल्याणकारी पेन्सन र स्वास्थ्य सुविधा दिइरहेको छ । नेपालभरी झण्डै ३ हजारभन्दा बढी त्यसरी कल्याणकारी पेन्सन बुझ्ने र सुविधा लिने भूतपूर्व गोर्खा सैनिक छन् । गोर्खा वेलफेयर ट्रस्ट, पोखराका प्रमुख निमबहादुर पुनका अनुसार हाल पोखराको आवास गृहमा २० जना स्थायी रुपमा बसोबास गर्ने र ३ जना पुनर्स्थापनाका लागि आएका भूतपूर्व गोर्खा सैनिक र तिनका परिवार छन् । 

Bhupu Gurkha soldier's family visit by British prince

तीमध्ये १६ जना भूतपूर्व गोर्खा सैनिकका विधवा हुन् भने ४ जना कल्याणकारी पेन्सन पाउने भूतपूर्व गोरखा सैनिक छन् । तीनजना भने स्वास्थ्यमा सुधार भएपछि घर फर्किनेछन् । ‘परिवारमा उहाँहरुलाई हेरचाह गर्ने कोही पनि नभएको खण्डमा यहाँ ल्याएर राख्छौं,’ उनले भने ।

ट्रस्टको कार्यालयमा पुगेका राजकुमार दम्पतीले ट्रस्ट र कादुरीले गरेका कामबारे जानकारी लिए । वेलफेयर कार्यालयमा नै उनीहरुले बेलायती महारानी एलिजावेथ विभिन्न समारोहमा सहभागी हुँदा पहरा दिने भूतपूर्व गोर्खा सैनिकसँगसमेत भेट गरे । गोर्खा वेलफेयर कार्यालयमार्फत पेन्सन लिइरहेका भूतपूर्व सैनिक र उनीहरुका परिवारसँग पनि राजकुमार दम्पतीले भेट गरे ।

Bhupu Gurkha soldier's family visit by British prince

उनीहरु बिहीबार पोखरा–२८ कालिकामा रहेको टाइगर माउन्टेन लजमा बास बसे । त्यस क्षेत्रमा बेलायतका हालका राजा एवं तत्कालीन राजकुमार चार्ल्स तृतीय सन् १९८० मा नेपाल आउँदा पदयात्रा गरेका थिए । त्यस क्षेत्रलाई ‘रोयल ट्रेक’ को नामले चिनिन्छ । चार्ल्स सन् १९८० को डिसेम्बर ६ देखि १३ सम्म नेपाल भ्रमणमा आउँदा त्यस क्षेत्रमा पुगेका थिए । राजकुमार एडवार्ड चार्ल्सका कान्छा भाइ हुन् । 

राजकुमार दम्पती शुक्रबार पोखरामा रहेको गोर्खा सैनिक भर्ती केन्द्र (ब्रिटिस क्याम्प)मा नयाँ भर्ती भएका गोर्खा सैनिकको दीक्षान्त समारोहमा सहभागी हुने छन् । शुक्रबार नै लुम्ले पुगेर त्यहाँबाट अन्नपूर्ण गाउँपालिकाको माझगाउँसम्म पदयात्रा गर्ने छन् । शनिबार माझगाउँबाट लान्द्रुक हुँदै पैदलै पर्यटकीय गाउँ घान्द्रुकमा बास बस्न पुग्ने छन् । उनीहरु आइतबार घान्द्रुकबाट पोखरा हुँदै काठमाडौं फर्कने तालिका छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully