आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच सम्झौता

माघ २२, २०८१

सम्झना रसाइली

Agreement between Ambukhaireni Rural Municipality and Chitwan Medical College

तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेज, भरतपुरबीच मंगलबार स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । गाउँपालिका र मेडिकल कलेजबीच स्वास्थ्य सेवा विस्तारका लागि सम्झौता भएको हो । 

गाउँपालिका अध्यक्ष शुक्र चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम आँबुखैरेनी गाउँपालिकाका नागरिकहरुले चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवाहरुमा २० प्रतिशत रकम छुट पाउने गाउँपालिकाका अध्यक्ष चुमानले बताए । उनले भने, ‘गाउँपालिकाको अस्पतालमा प्रत्येक १५/१५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनको लागि मागबमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ डाक्टर उपलब्ध गराउने सहमति भएको छ ।’

यस्तै, यस सम्झौतासँगै पालिकाको विकट क्षेत्रकेन्द्रित निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नको लागि आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने छ । 

समझौतामार्फत आँबुखैरेनी गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास लिएका अध्यक्ष चुमानले बताए ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully