टिपरले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु, २ जना घाइते

माघ २१, २०८१

सम्झना रसाइली

Tipper hits scooter, woman dies, 2 injured

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको खाली टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नं. को कार र ग १८ प ७७५२ नं. को स्कुटरलाई ठक्कर दिएको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त ठक्करबाट पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्री गम्भीर घाइते भई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, उक्त स्कुटर चालक २१ वर्षीय दिपेश कुमार क्षेत्री सामान्य घाइते भएका छन् । मृतक र स्कुटर चालकका आमा छोरा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी गराए ।

उक्त दुघर्टनामा परेका कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दाहिने हातमा सामान्य चोट लागेको र उनलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न टिपर चालक धादिङ निलकण्ठ–२ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान अगाडि बढाएको छ । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully