विश्वविद्यालय सम्भावनाको खोजी गर्ने स्थल : त्रिवि रजिस्ट्रार रिजाल

माघ २१, २०८१

प्रकाश बराल

Where to look for university prospects: University Registrar Rizal

बागलुङ — त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले शिक्षण संस्था सय वर्षपछिको अवस्था देख्न सक्ने हुनुपर्ने बताएका छन् । उनले देशको शिक्षा नीति पनि सोही प्रकृतिको बन्नुपर्ने बताए ।

‘विश्व विद्यालय सम्भावनाको खोजी गर्ने स्थान हुन्, हामीले सय वर्षपछिको सम्भावना पनि विश्वविद्यालयबाटै खोज्नुपर्छ,’ उनले भने, ‘देशको राजनीतिक नेतृत्वदेखि सामाजिक, आर्थिक रूपान्तरणको जनशक्तिसमेत विश्वविद्यालयले उत्पादन गर्नुपर्छ ।’

धौलागिरि बहुमुखी क्याम्पसको ६२ औं वार्षिकोत्सवको उद्घाटन गर्दै रिजालले मोफसलका क्याम्पसलाई सम्भावनाको खोजी गर्न सक्ने र रिसर्च सेन्टरको रूपमा विकास गर्न पहल गर्नेसमेत जनाए । 

धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष प्राडा दिनबहादुर थापाले क्याम्पसलाई अनुसन्धान केन्द्र बनाउन सुरु गरिएको बताए । क्याम्पस प्रमुख सहप्राध्यापक सुदर्शन सिलवालले युवा पलायन रोक्ने र स्वदेशमै काम गरेर रमाउन सक्ने दक्ष जनशक्ति उत्पादनमा लागेको प्रतिबद्धता जनाए । 

२०१९ सालमा रात्रिकालीन क्याम्पसका रूपमा स्थापित धौलागिरि बहुमुखी क्याम्पसमा अहिले २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । यहाँ व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तथा विज्ञानमा स्नातक र बीबीएसम्मको पढाइ हुने गरेको छ ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully