लमजुङको प्रोबीमा घर जल्यो, सिउरुङमा भेडीगोठ

माघ २१, २०८१

आश गुरुङ

A house burnt down in Lamjung's Probi, a sheep in Siurung

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका २, प्रोबीका सन्तबहादुर तामाङको घरमा आगलागी हुँदा एकतले कच्ची घरसहित घरभित्रका सबै सामान जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आइतबार साँझ गुन्द्रीबाट सल्किएको आगो घरमा लाग्दा घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, टिभी, मोबाइल लगायत सामान जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार आगलागीबाट घरसहित सवै सामान जल्दा ७ लाख ५० हजार रुपैयाँ राबरको धनमाल नष्ट भएको जानकारी आएको छ । आइतबार साँझपख नातीले लाइटर खेलाउँदा गुन्द्रमा लागेको आगो घरमा सल्किएर आगलागी भएको बुझिन आएको प्रहरीले जनाएको छ ।

यसैबीच, मर्स्याङ्दी गाउँपालिका ३, सिउरुङमा रहेको भेडीगोठमा आगलागी भएको प्रहरीले जनाएको छ । सोमबार बिहान साढे ८ बजेतिर गोठभित्रको चुल्होबाट सल्किएको आगोले स्थानीय गणेशबहादुर गुरुङको भेडीगोठ पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार चुल्होमा आगो बलिराखेको बेला गोठाला भेडा छुट्याउन गएको बेला आगलागी भएको जानकारी प्राप्त भएको छ । भेडीगोठभित्र भएका गोठालाका लत्ताकपडा, सोलार लाइट, भाँडावर्तन, रेडियो जलेर नष्ट भएको उनले बताए । आगलागीबाट १ लाख ४० हजार रुपैयाँबराबरको क्षति भएको भेडीगोठालाले दावी गरेको छ । विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully