लोडर पल्टिँदा एक जनाको मृत्यु

माघ १८, २०८१

आश गुरुङ

One person died when the loader overturned

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका ६, ताँजे गाउँनजिकै क्यामे डाँडामा सडक खन्न प्रयोग हुने लोडर पल्टिँदा एकजना स्थानीयको मृत्यु भएको छ ।

बा.२ क. ३२६७ नम्बरको ब्याक्हो लोडर पल्टिँदा ३९ वर्षीय उमरजंग घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार बिहीबार साँढे ६ बजेतिर दुर्घटना भएको बुझिएको छ ।

गम्भीर घाइते घलेलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा राति पौने १ बजेतिर मृत्यु भएको खबर प्राप्त भएको उनले बताए ।

प्रहरीका अनुसार लोडर चालक मकवानपुरको भीमफेदी गाउँपालिका-६ ढोरसिङका २५ वर्षीय रवीन रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोडर पिपुल्स हाइड्रोपावर कम्पनीको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा सञ्चालन गरिएको मेसिन रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै यकिन विवरण प्राप्त हुने जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully