टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माघ १३, २०८१

घनश्याम खड्का

Motorcyclist killed in collision with tipper

म्याग्दी — बेनी नगरपालिका-६ चुत्रेतीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

शनिबार राति ८:३० बजे भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मंगला गाउँपालिका-३ का थमबहादुर रोका (४६) को मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार बेनी नगरपालिका-७ मंगलाघाट बस्ने प्रेम शाहीको पोखरा  मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूलाई स्थानीयले उद्धार गरी बेनी अस्पताल पुर्‍याएका थिए । बेनीमा थप उपचार सम्भव नभएपछि घाइतेहरूलाई थप उपचारका लागि राति नै पोखरा पुर्‍याइएको थियो । 

बेनी नगरपालिका-४ तातोपानीबाट बेनीतर्फ आउँदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई बेनीबाट तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले चुत्रेनीमा ठक्कर दिएको थियो । प्रहरी निरीक्षक सागर पौडेलका अनुसार टिपर चालक बेनी नगरपालिका-५ का खिमे दर्जीलाई पक्राउ गरी अनुसन्धान सुरु भएको छ ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully