लमजुङ — मनाङको नासों गाउँपालिका-३, निगालाघारीको खोल्सी खोंचमा बेवारिसे पुरुषको शव फेला परेको छ । मनाङ प्रहरीले आइतबार भेटिएको शव परीक्षणका लागि सदरमुकाम चामेस्थित जिल्ला अस्पताल मनाङमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक चिरञ्जीवी पाण्डेका अनुसार बेंसीसहर–चामे सडकको तालडाँडा र धारापानीको बीच क्षेत्र निगालाघारीको खोल्सीको खाँचमा अन्दाजी ४५–५० वर्ष उमेरका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो । स्थानीयले शनिबार बिहान खबर गरेको र त्यसपछि आफूसहितका प्रहरी टोली, धारापानी र तालको प्रहरी चौकीको प्रहरी टोलीले शव निकालेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको उनले बताए ।
