मर्स्याङ्दीमा १०३ जना बिरामीको आँखा शल्यक्रिया

माघ ११, २०८१

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आयोजना गरेको ३ दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा १ सय ३ जना बिरामीको आँखा शल्यक्रिया गरिएको छ ।

शिविरमा ९ सय ५ जनाले सेवा लिएकोमा मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको हो । आँखामा विभिन्न समस्या देखिएका २ सय ३७ जना बिरामीलाई चस्मा वितरण गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिका-७ ङादीस्थित भुलभुले स्वास्थ्य चौकीमा आयोजित शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका विशेषज्ञ डाक्टरसहित प्राविधिक टिम खटिएका थिए । शिविरलाई मुटु फाउन्डेसन काठमाडौं र मनोज एसोसिएसन फ्रान्सले आर्थिक सहयोग गरेको थियो ।

शिविरको अन्तिम दिन बिहीबार १ सय ९४ जनाको आँखा जाँच गरिएकोमा मोतियाबिन्दुको समस्या देखिएका २३ जनाको शल्यक्रिया गरिएको थियो । उनीहरुको शुक्रबार आँखा खोलिएको वडा नं. ७ का वडाध्यक्ष तिलबहादुर गुरुङले बताए ।

मंगलबार पहिलो दिन ३ सय २४ जनाले सेवा लिएका थिए । मोतियाबिन्दुको समस्या देखिएका ३२ जनाको शल्यक्रिया गरिएको थियो । दोस्रो दिने बुधबार ३ सय ८७ जनाको आँखा परीक्षण गरिएकोमा मोतियाबिन्दुको समस्या भएका ४८ जना बिरामीको आँखा शल्यक्रिया गरिएको थियो ।

शिविरमा नेत्ररोग विशेषज्ञ डा. प्रणव श्रेष्ठ, अर्का एक चिकित्सकसहित ८ जना सम्मिलित प्राविधिक टोलीले सेवा दिएका थिए । शल्यक्रिया गरिएका बिरामीहरुको पुनः परीक्षण शिविर माघ २५ गते शिविर आयोजना गरिएको स्थलमै हुने भएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आर्थिक अवस्था निकै कमजोर भएका, आँखाको समस्या भएर पनि उपचारका लागि जिल्ला बाहिर जान नसकेका, असाहय नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको बताए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully