लमजुङ — नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को काम पानी धमिल्याउने अनि माछा मार्नेमात्रै रहेको टिप्पणी गरेका छन् । दाहालले कहिले कांग्रेसलाई, कहिले एमालेलाई ‘युज एण्ड थ्रो’ गरेर सत्ता सञ्चालन गरेको पनि उनले आरोप लगाए ।
नेकपा एमाले लमजुङले मंगलबारदेखि बेंसीसहरमा आयोजना गरेको ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले स्थिरताका लागि सुरुमा दाहाललाई प्रधानमन्त्री बनाए पनि उनी इमान्दार नभएको बताए ।
‘स्थिरताका लागि हामीले प्रधानमन्त्री बनाएकै हो । तर, उहाँ इमान्दार भएनन् । सच्याउन सकिन्छ कि भनेर फेरि प्रधानमन्त्री बनायौं । मसँग जादूको नम्बर छ, ३२ सिट छ भन्दै कहिले कांग्रेसलाई, कहिले एमालेलाई युज एण्ड थ्रो गर्दै गर्ने सत्ता सञ्चालन गरिरहे ।’
उनले दाहालले सधैं अस्थिरता चाहिरहेको आरोप लगाए । ‘उनले जुन खालको अस्थिर राजनीति, अवसरवादी राजनीति गरे, त्यसले देशलाई अप्ठ्यारोमा पार्यो । त्यसपछि हामी कांग्रेससंग बस्यौं,’ उनले भने, ‘हुन त कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी हौं । तर, देश अप्ठ्यारोमा परेकाले हामी मिल्यौं ।’
दाहाल एकछिन पनि सत्ताबाहिर बस्न नसकेका उनमा छटपटी भइरहेको उपमहासचिव ज्ञवालीले बताए । ‘आफू सत्तामा भए सबै ठिक, सत्तामा नभएपछि लोकतन्त्र धरापमा, गणतन्त्र धरापमा भनेर कुर्लने । सत्ताबाहिर भएपछि कहिले मोर्चा बनाउने, कहिले राजावादीलाई भेट्ने, कहिले रविलाई किन कारबाही गरेको भन्ने ? कहिले देश बंगलादेश हुन लाग्यो भन्ने,’ उनले भने, ‘धमिलो पानीमा माछा मार्न बानी परेकालाई अहिले कांग्रेस–एमाले मिलेको मन परेन ।’
उनले रास्वपा कुनै दल नभइ दीर्घकालीन लक्ष्य बोक्न नसकेको ‘पपुलर’ हुन चाहनेको समूह भएको टिप्पणी गरे । उनले नीति, सिद्धान्त र विचार लिएर एकछिनका लागि जनतालाई उक्साउने, आफू पपुलर हुन चाहनेले देशको दीर्घकालीन हितका लागि सोच्न र काम गर्न नसक्ने उनले आरोप लगाए ।
उनले कांग्रेस–एमाले सहमति अनुसार सरकार आगामी निर्वाचनसम्म ढुक्कले सञ्चालन हुने दाबी गरे ।
नेकपा एमाले केन्द्रीय कमिटीको कार्यक्रम अनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले जानकारी दिए । उपमहासचिव ज्ञवालीसँगै स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला, पार्टी गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीका स्कुल विभाग प्रमुख मदनबहादुर रानाले जानकारी दिए ।
