बागलुङ — चार पटकसम्म ठेक्काको म्याद थप भएपनि निर्माण कम्पनीले सडक निर्माणको काम अलपत्र पारेको छ । बागलुङको जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीसेरादेखि राङखानी, नाम्दुक बरेङ हुँदै शान्तिपुर जोड्ने सडक निर्माण अलपत्र परेपछि स्थानीय आक्रोशित छन् ।६ वर्षमा चार पटक म्याद थपेर पनि सडक निर्माण बल्ल ५७ प्रतिशतमात्रै छ ।
दुई जिल्ला जोड्ने गरी निर्माणाधीन रणनीतिक सडक ठेकेदारका कारण अलपत्र परेको हो । ठेक्का लिएको ‘शर्मा क्याराभान संयुक्त निर्माण कम्पनी’ले लापरबाही गर्दा स्थानीयले हिउँदमा धुलो र वर्षात्मा हिलाम्मे सडकबाट यात्रा गर्न बाध्य छन् । पटक पटक म्याद थपेर काम नगर्ने ठेकेदारको लाइसेन्स रद्द गर्नुपर्ने स्थानीयको माग छ । साथै तत्काल ठेक्का रद्द गरेर नयाँ काम लागउन पनि उनीहरुले माग गरेका छन् ।
‘१० किमी सडक ६ वर्षमा पनि आधा नसक्ने ठेकेदारबाट हामीले के आश गरौं,’ स्थानीय भीम श्रीषले भने, ‘काम गर्ने पद्धतिमै सुधार हुनुपर्छ ।’ तोकेको समयमा काम नसके तत्कालै कारवाही गर्ने नीति नभएसम्म ठेकेदारहरुले जनतालाई सास्ती मात्रै दिने उनले बताए । पछिल्लो समय राजनीतिक नेतृत्वसँग नजिक भएर ठेकेदारहरुले काम अलपत्र पार्ने गरेको उनले आरोप लगाए ।
स्थानीयले पूर्वाधार विकास कार्यालय र मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको पनि ध्यानाकर्षण गराएका छन् । ‘हामीले धेरै दुःख पायौं, अब संघर्ष नगरे यो सडक बन्ने देखिएन’ स्थानीय तेजनाथ उपाध्यायले भने, ‘राज्यको काम अलपत्र पार्नेलाई जेल सजाए दिने व्यवस्था हुनुपर्छ ।’
आम नागरिकले दुःख पाएको टुलुटुलु हेर्ने, रकम लगेर मोजमस्ती गर्ने र नेतृत्वमा मिलेमतो गर्ने ठेकेदार खोजीखोजी कारवाही गर्नुृपर्ने उनले सुझाए । निर्माण व्यवसायी चन्द्र थकालीले स्थानीयलाई समेत पटक पटक विश्वासमा लिएर काम अलपत्र पारेको उनीहरुको गुनासो छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पनि ठेकेदारलाई तत्काल काममा फर्काउन पहल गर्ने आश्वासन दिएका छन् ।
माघ भित्रै काम नथाले गाउँलेले आन्दोलनका अन्य चरण शुरु गर्ने र त्यसको जिम्मेवार सरकारले लिनुपर्ने चेतावनी दिएका छन् । पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण कम्पनीले ६ वर्षमा ५७ प्रतिशत काम गरेको उल्लेख छ । उक्त अवधिमा कुल रकमको ५६ प्रतिशत रकम समेत असुल भैसकेको पूर्वाधार बिकास कार्यालय, बागलुङका प्रमुख दिनेशकुमार घिमिरेले बताए ।
२०७६ को असोज २९ मा सडकको सम्झौता भएको थियो । २४ करोड ५८ लाख ५७ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भएकोमा ठेकेदार कम्पनीले अहिले सम्म १४ करोड ७३ लाख भुक्तानी लगिसकेको घिमिरेले बताए ।
सोही मितिमा सम्झौता गरेको कर्ण बिल्डर्सले पाग्जा सरंगे खण्ड भने तोकिएको समय भन्दा ६ महिना अघिनै काम सकेर बुझाएको थियो । संघर्षसमितिको चेतावनी पछि ठेकेदारका प्रतिनिधि तेजराज शाहीले आगामी चैत मसान्तमा काम सक्ने दावी गरेका छन् । ‘अब ग्राभेल गरेर कालोपत्रे गर्ने काम बाँकी छ, छिटै काम गर्छौ’ शाहीले भने, ‘गर्मी लाग्ने वित्तिकै कालोपत्रेको काम शुरु हुन्छ ।’
स्थानीयले भने ६ वर्षमा आधा काम गरेको कम्पनीले तीन महिनामा काम सकिन्छ भन्ने कुरा पत्याउन नसक्ने बताए । स्थानीयले सामग्री राख्न दिएको जग्गाको भाडा, कामदार समेतको ज्याला नपाएको गुनासो गरेका छन् । स्थानीय कामदारले पाउनु पर्ने ज्याला, उधारोमा लगेको खाद्यान्न र जग्गा भाडा समेत गरी ठेकेदार कम्पनीले २२ लाख तिर्न बाँकी रहेकोमा वेवास्ता भएको भन्दै प्रशसन मार्फत उक्त रकम उठाइदिन पनि माग गरेका छन् ।
