गोरखा — सहिद लखन गाउँपालिका–८ को वडा कार्यालयले जन्मदर्ता र मृत्युदर्ताको प्रमाणपत्र घरदैलोमै उपलब्ध गराउन थालेको छ ।
गत कात्तिक २९ गते वडा समितिको बैठकबाट निर्णय गराएर व्यक्तिगत घटना दर्ता प्रमाणपत्र घरदैलोमा पुगेर वितरण गरिएको वडाध्यक्ष वासुदेव ढकालले बताए ।
हालसम्म १४ जनाको मृत्युदर्ताको प्रमाणपत्र र ३ जनाको जन्मदर्ता प्रमाणपत्र घरदैलोमा पुगेर हस्तान्तरण गरिएको उनले बताए ।
‘गतवर्षदेखि ‘मृतकका परिवारसँग गाउँपालिका’ भन्ने नीति गाउँपालिकाले लिएको थियो, काजकिरियाको १३ दिनको अवधिमा ‘जनप्रतिनिधि मृतकको परिवारसँग’ भेट्ने सान्त्वना दिने नीति छ,’ उनले भने, ‘परिवारका सदस्यलाई वडासम्म आउन झन्झट पनि हुँदैन भनेर हाम्रो वडाले भने भेट्न जाँदा प्रमाणपत्र पनि उपलब्ध गराउन थालेको हो ।’
वडा सदस्यमार्फत मृतकको विवरण र फोटो संकलन गरी प्रमाणपत्रसहित परिवारलाई भेट्न जाने गरेको उनले बताए ।
उक्त सेवाप्रवाह सुरु भएसँगै वडावासीलाई जन्मदर्ता र मृत्युदर्ता प्रमाणपत्र लिन वडा कार्यालयसम्म आउनुपर्ने वाध्यता नरहने उनले बताए ।
