बागलुङ — बागलुङ नगरपालिका–७ विश्वकर्मा माध्यामिक विद्यालय पढ्न आइपुग्दा विद्यार्थी धुलाम्मे हुन्छन् । विद्यालयको बरन्डा र खेल मैदानमा बस्दा पनि धुलोले सताउँछ । क्यान्टिनमा पानी र खाजा समेत शुद्ध खान पाउने स्थिति छैन । गत असोजदेखिनै धुलोले विद्यालय प्रभावित बनेको हो ।
नजिकैको कालीमाटी स्वास्थ्य चौकीमा समेत यसको असर परेको छ । निर्माणाधीन मूलपानी, कालीमाटी हुँदै तितौरे जाने सडकको धुलोले विद्यालय र स्वास्थ्य चौकीमा असर परेको हो । स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न आउने महिलादेखि बालबालिकामा धुलोको असर परेको स्वास्थ्य चौकीका निमित्त प्रमुख लक्ष्मण कार्कीले बताए ।
‘स्वास्थ्य चौकीभित्रै त थोरै असर छ, तर सेवाग्राही त्यही बाटो हिडेर आउँदा अस्तव्यस्त भएका छन्,’ कार्कीले भने, ‘धुलोको व्यवस्थापन नभए त धेरै बालबालिका र महिला बिरामी पर्छन् ।’ विद्यालय र स्वास्थ्य चौकी मात्र हैन, वडा कार्यालयमा पनि यो सास्ती छ । दैनिक सेवा प्रवाहमा आउनेले पनि धुलोले हैरानी खेपेका छन् । यो सडक खण्ड निर्माण गर्ने कम्पनीका गाडी, एक्स्काभेटर, डोजर र ट्रिपर जथाभावी गुडाउँदा उड्ने धुलोले स्थानीय बासिन्दा समेत आजित भएका हुन् ।
करोडौं लागतमा निर्माणाधीन सडक आयोजनाले सडकमा पानी नहाल्दा धुलोले गाउँनै फुस्रो भएको छ । बिहानदेखि रातिसम्म धुलो उडाउने गरी ठेकेदारका गाठीहरु गुड्ने गर्छन् । साथै माटो थुपार्ने स्थाल, गिटी कुट्नेलगायतको साइटमा पनि उत्तिकै धुलो छ ।
धुलोले स्थानीय किसानले पनि दुःख पाएका छन् । बारीमा लगाएको सागपात समेत खानै नसकिने अवस्थाको छ । बजारमा बिक्री गर्नेले पनि धुलोको मार परेको गुनासो गरे । ‘विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय पुग्दा धुलोले बिरामी परिन्छ,’ स्थानीय हर्कमान विकले भने, ‘धुलोले डाले घाँस र भुई घाँस पनि माटैमाटो बनेको छ ।’
बारीमा लगाएको साग समेत खान नसकिने भएको उनको गुनासो छ । धुलोको कारण गाईभैसीले घाँस समेत नखाएकोले दूध घटेको गुनासो गरे । आगामी असार मसान्तभित्र सक्ने गरी यो सडक निर्माणाधीन छ । सडक छेवैमा रहेको विश्वकर्मा माविका दुई सय ५० विद्यार्थी धुलाम्मे हुने गरेका छन् भने बालविकास केन्द्रमा आउने ५ वर्षमूनिका बालबालिका समेत धुलोको चपेटामा छन् । स्थानीय रेष्टुरेन्ट व्यवसायी त झनै पिडामा परेको गुनासो गर्छन् ।
‘धुलोले बिद्यार्थीहरु सेताम्मे भएर बिद्यालय आइपुग्छन्’ शिक्षक पशुपति चापागाईले भने, ‘एक छिन बाहिर बसेर पढ्न पनि नसकिने गरी धुलो उड्छ ।’ ठेकेदारले धुलो व्यवस्थापनको काम नगरेको वडा अध्यक्ष मेघनाथ गैरेले बताए । वडा कार्यालय समेत धुलोले फोहोर भैरहेको गैह्रे गुनासो गर्छन् । बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम मार्फत आगामी असार मसान्तभित्र सक्ने गरी वडा ७ को मूलपानीदेखि तितौरेसम्मको सााढे ८ किमी, ओडारचौरदेखि ढोडेनीसम्मको साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडक निर्मण गरिरहेको छ ।
विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४५ करोडमा उक्त सडक निर्माण गरिरहेको हो । आशिष फेवा संयुक्त निर्माण कम्पनीले सडक निर्माणको काम गरिरहेको छ । सडक निर्माणले अहिलेसम्म ३५ प्रतिशत प्रगती गरेको इन्जिनियर मनोज शर्माले बताए ।
धुलोको समस्याबारे भने शर्माले तत्काल पानी हाल्ने व्यवस्था नभएको सुनाए । ‘असार मसान्तभित्र कालोपत्र हुने गरी काम भइरहेको छ, तर पानी हाल्ने सम्झौता थिएन, त्यसैले सकिएन,’ उनले भने, ‘आगामी दिनमा यस्ता विषय सिकाइको रुपमा लिन सकिनेछ ।’
बालबालिका र बिरामीमा परेको असर बारे जानकार भएर पनि खर्चको व्यवस्थापनले पानी हाल्ने काम गर्न नसकेको उनले बताए । यो सडक सडक बनाउँदा बागलुङ नगरपालिकाले चक्रपथ मार्फत नियमित बस संचालन गर्न सक्नेछ । सडक अप्ठ्यारो हुँदा नियमित सवारी नचलेर यहाँका मानिस सदरमुकाम बागलुङ बजार झर्न घुमाउरो बाटो हिड्न बाध्य छन् ।
यहाँका किसानले फलाएको फलफूल, दूध र तरकारी पनि सहजै सदरमुकाममा ढुवानी गर्न पाउनेछन् । नगरपालिकाले मुकामदेखि तीन वटा वडामा कालोपत्र सडकले जोड्न पाउनेछ । त्यसका लागि बिश्व बैंकले ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराएपनि ठेक्का कम मूल्यमा भएको थियो ।
यी तीनवटै सडक ६ देखि ८ मिटर चौडाका हुनेछन् । बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ । यसअघि बैंककै सहयोगमा बागलुङको वडा ४ देखि ६ सम्मको झण्डै ७ किमी सडक कालोपत्र भैसकेको छ । उक्त सडकले नगरको चक्रपथ निर्माणमा सहयोग पुगेको छ ।
नगरपालिकलो सबै वडा जोड्ने गरी चक्रपथको अबधारणा ल्याएको छ । वडा १ देखि ७ सम्मको खण्ड ट्याकबाट जोडिइसकेको छ भने अधिकांश खण्ड कालोपत्रे भैसकेको छ । वडा ८, ९, १० र ११ मा गत वर्षदेखि नै प्रदेश सरकारको साझेदारीमा सडक निर्माण भैरहेको छ । वडा १२, १३ र १४ का लागि पनि छुट्टै योजनाबाट सडक संजालले जोडिएको छ । एकीकृत बनाएर नगरबस समेत चलाउन नगरपालिकाले बनाएको योजनामा दाताले साथ दिएका हुन् ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगरसभाले प्राथमिकीकरण गरेका १, २ र ३ नम्बरका सडकमा उक्त लगानी भएको बताए । ‘जनताको हितकालागि काम गरेको हो, त्यसैले धुलो धुँवा क मगर्न पनि पहल गर्छौ’ श्रेष्ठले भने, ‘तत्काल के गर्न सकिन्छ तयारी भइरहेको छ ।’ सँगै निर्माण भैरहेको ओडारचौर र नियरघाटमा भने धुलोको समस्या कम छ । निरयघाट तर्फको सडक निर्माणले पनि बागलुङ नगरपालिका १ माझीबस्तीमा धुलोको प्रभाव परेको छ । उनीहरुले आफैँ पनि पानी हाल्ने गरेका छन् ।
