लमजुङ — लमजुङको सुन्दरबजारबाट एकजना भारतीय नागरिक ७९ तोला ४३ लाल सुनसहित फरार भएको जाहेरी जिल्ला प्रहरी कार्यालय लमजुङमा परेको छ ।
सुन गाल्ने काम गर्दै आएका भारतको महाराष्ट्र घर भइ ३ वर्षयता सुन्दरबजार बस्दै आएका ३६ वर्षीय दिपक झाण्करले सुन्दरबजार नगरपालिका-९, भोटेओडार तल्लो बजारका दिपेन्द्र सुवर्णकारको सुन चोरेर फरार भएको उजुरी बुधबार प्रहरीमा परेको हो ।
चण्डिका सुनचाँदी पसल सञ्चालन गर्दै आएका सुवर्णकारका अनुसार आफूसँग रहेको सुन गाल्न सुन्दरबजार - ६, सुन्दरबजार बस्दै आएका झाण्करकोमा सोमबार बिहान लगिएको थियो । ८५ तोला ३८ लाल सुन गाल्नको लागि बिहान १० बजेतिर दिएकोमा साँझ अबेरसम्म सुन गालेको तर राम्रोसँग गाल्न नमानेको भनी झाण्करले सुवर्णकारलाई ७९ तोला २० लाल फिर्ता दियो ।
चित्त नबुझेपछि मंगलबार बिहान साढे ६ बजे सुवर्णकार झाण्करनेर पुगे । उनले गाल्ने भाँडामा केही सुन रहेको भनी जोखेको र त्यसमा २३ लाल थियो । सुवर्णकारका अनुसार उक्त सुनसमेत गरी ७९ तोला ४३ लाल सुन गाल्न झाण्करलाई पुनः दिइयो ।
झाण्करले आफूसँग भएको तेजावले सुन राम्रोसँग गाल्न नमानेको र साथीको पसलमा तेजाव लिन जाने भन्दै गएकोमा सुन लिएर फरार भएको सुवर्णकारले बताए । झाण्करले गेटको ताला लगाएर आफ्नो आँखा छली फरार भएको सुवर्णकारले बताए । ‘आफूसँग भएको तेजावले सुन राम्रोसँग गाल्न नमानेको भनी अर्को साथीकोमा तेजाव लिन जान्छु भन्दै हिँडे । बिहान १० बजे आसपासतिर गएको मान्छे १५–२० मिनेटसम्म पनि नफर्किएपछि फोन गर्दा व्यस्तको व्यस्त भन्यो । बल्ल–बल्ल फोन लाग्दा साथी उठ्न ढिला गरेकोले केहीबेरमा आउने भने,’ सुवर्णकारले भने, ‘एकछिनपछि झाण्करले फोन अफ गरे । सुन गाल्ने भट्टीमा चाँदीमात्रै रहेछ । बाहिर निस्किन लाग्दा त गेटमा पनि ताला लगाएछ । झाण्कर सुन लिएर भागेछ ।’ छिमेकीको सहयोगमा गेटबाहिर निस्किएको उनले बताए ।
‘म किड्नी ट्रान्सप्लान्टको बिरामी हो । समयमा औषधि खानलाई मोबाइलमा अलरम छ । मंगलबार बिहान घरैबाट २ वटा अण्डा उसिनेर लगेको थिएँ । म साढे ६ बजेतिरै झाण्करकोमा पुगेको थिएँ । पौने ८ बजे औषधि खान मैले अण्डा खाएँ, उनी खोकेको खोक्यै भए,’ सुवर्णकारले भने, ‘चिसोले होला भनेको उनी आफैंले सुन गालेको खारले हो भने । मैले होटलबाट चिया ल्याएँ, उनले खाए । गिलास पुर्याउन पनि म आफैं गएँ । म आउने वित्तिकै साथीकोमा तेजाव लिन जान्छु भनेको मान्छे फर्केनन् ।’
उनले मंगलबार दिनभरि खोजी गरिएको र इलाका प्रहरी कार्यालय सुन्दरबजारमा खोजतलासका लागि निवेदन लेखेकोमा नभेटिएपछि बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार सुवर्णकारले जिल्ला प्रहरी कार्यालयमा सुन चोरेर भागेको भनी भारतको महाराष्ट्र घर भइ केही वर्षदेखि सुन्दरबजारमा बस्दै आएका भारतीय नागरिक दिपक झाण्करविरुद्ध जाहेरी दिएका छन् । प्रहरीका अनुसार जाहेरीमा १ करोड २३ लाख ५१ हजार ३ सय ६५ रुपैयाँ बराबरको ७९ तोला ४३ लाल सुन चोरी गरेर भागेको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार प्रहरीले मंगलबारबाटै भारतीय नागरिक ३६ वर्षीय दिपक झाण्करको खोजी भइरहेको छ । ‘हामी आरोपीको खोजी गरिरहेका छौं । जाहेरी आएको छ । हामीले सूक्ष्म ढंगले खोजतसाल गरिरहेका छौं,’ उनले भने ।
