भौतिकशास्त्र अनुसन्धान लेखनलाई स्तरीय बनाउनुपर्नेमा जोड

पुस २९, २०८१

दीपक परियार

Emphasis on standardizing physics research writing

पोखरा — भौतिकशास्त्र अनुसन्धान लेखनलाई त्रुटिरहित र स्तरीय बनाउनुपर्नेमा भौतिकशास्त्रीले जोड दिएका छन् । नेपाल भौतिक विज्ञान समाज गण्डकी प्रदेश समितिले आयोजना गरेको भौतिकशास्त्र अनुसन्धान लेखन कार्यशाला ‘राइट फिजिक्स राइट’ मा सहभागी विज्ञले गैरव्यावसायिक प्रकाशन र बौद्धिक चोरीबाट जोगिनुपर्नेमा जोड दिए ।

अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चलेको कार्यशालामा चार जना विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद अधिकारीले कक्षा ११ र १२ को भौतिकशास्त्रका लागि परियोजना निर्माणका विधि समेटेर आफ्नो सत्र सञ्चालन गरे ।

कार्यशालामा शिक्षण विधि र पाठ्यक्रम विकासका स्वतन्त्र विशेषज्ञ डा.सुनिल पोखरेलले अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपीए–७ सन्दर्भ प्रणाली) र जोटेरो प्रयोगमा व्यावहारिक मार्गदर्शन गरे । गण्डकी विश्वविद्यालयका डिन तथा समाजका उपाध्यक्ष डा.कपिल अधिकारीले अनुसन्धान लेखनमा बौद्धिक चोरीबाट बच्नुपर्नेमा जोड दिए ।

कार्यशालामा गण्डकी प्रदेशका विभिन्न शिक्षण संस्थामा आबद्ध भौतिकशास्त्रीको सहभागिता रहेको थियो । कार्यशालाले सहभागीलाई अनुसन्धान लेखन र शैक्षिक सञ्चारमा उन्नत सीप प्रदान  गरेको समाजका गण्डकी प्रदेश अध्यक्ष डा.कृष्णराज अधिकारीले बताए । ‘प्रभावकारी अनुसन्धान अभ्यास प्रवर्द्धन गर्ने कार्यशालाको उद्देश्यलाई थप बलियो बनाएको छ,’ उनले भने, ‘यसले अनुसन्धानकर्तालाई विश्वव्यापी वैज्ञानिक संवादमा अर्थपूर्ण योगदान पुर्‍याउन सक्षम बनाउनेछ ।’

कार्यशालामा १० अनुसन्धान समूह बनाएर प्रत्येक समूहलाई एक–एकवटा भौतिकशास्त्रसम्बन्धी अनुसन्धान परियोजना दिइएको थियो । उक्त परियोजनाका आधारमा १० वटा समीक्षा लेख तयार गरी ‘लुम्ले संस्करण’ नामक हिमालयन फिजिक्स जर्नलमा प्रकाशित गरिने बताइएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully