बागलुङ — जिल्लास्तरका संघसंस्थाले सानो सहयोग गर्दा पनि स्थानीयले लाखौंका संरचना निर्माण गर्न सक्छन् भन्ने उदाहरण बाग्लुङका जनताले दिएका छन् । गाउँलेको ससानो सहयोग जुटाएर स्वास्थ्य सेवाका लागि यहाँ ठूलठूला संरचना निर्माण गरिएका हुन् ।
वडामुकामबाट पनि अपायकमा रहेका ग्रामीण बस्तीमा खोप क्लिनिक, गाउँघर क्लिनिक र प्रसूति प्रतीक्षाघर बनाउन उनीहरूले लगानी गरेका हुन् । स्थानीयको लगानीले यतिबेला गाउँमा लाखौं रुपैयाँ पर्ने संरचना तयार भएका छन् ।
काठेखोला गाउँपालिका–२ को सीमस्थित खोप क्लिनिकका लागि भीमा पोखरा युवा क्लबले ३ लाख रुपैयाँ सहयोग गर्दा स्थानीयले १३ लाख लगानी गरेर सामुदायिक भवन बनाएका छन् । यो भवनमा हरेक महिना गर्भवती र ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइन्छ । त्यसबाहेक स्वास्थ्यसम्बन्धी अन्य बैठक र छलफल गर्नु परेमा पनि यो भवन प्रयोग हुने गरेको भवन निर्माण समितिका अध्यक्ष रामप्रसाद शर्माले बताए ।
गलकोट नगरपालिका–१ को भण्डारवनका स्थानीय जाग्दा २० लाख बढीको भवन तयार भएको हो । उक्त भवनका लागि पनि सोही क्लबले ३ लाख रुपैयाँ सहयोग गरेको थियो । ‘भवन बनेपछि हामीलाई बैठक बस्नेदेखि खोप लगाउने र अत्यावश्यक सामग्री राख्न सहयोग मिलेको छ,’ निर्माण समितिकी उपाध्यक्ष समिता पुनले भनिन्, ‘आमा समूहको बैठक पनि यही भवनमा बस्ने गरेका छौं ।’ यो भवनमा आमा र शिशुको स्वास्थ्य सुरक्षाबारे जनचेतनामूलक सन्देश पनि लेखेर राखिएको छ ।
ताराखोलाको नागबेलीमा २५ लाख रुपैयाँ खर्चिएर खोप क्लिनिक भवन तयार भएको छ । निसीखोला गाउँपालिका–३ का बासिन्दाले पनि दाताको ३ लाख र गाउँपालिकाको २ लाख ५० हजार लगानीमा थप श्रमदान जुटाएर झण्डै १० लाखको भवन बनाएर प्रसूति प्रतीक्षाघर संचालनमा ल्याएका छन् । उक्त भवनमा एक वर्षमा १ सय ७ जना प्रसूतिले आश्रय समेत लिएका छन् । उक्त भवनमा चालु वर्षमा पनि ५२ जनाले सुत्केरी हुनुअघि र त्यसपछि बास बसेर निःशुल्क सेवासमेत लिएको अनमि ताराकुमारी चन्दले बताइन् ।
यी सबै अभियानमा यहाँ संचालन भएको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले स्वास्थ्य सेवामा पनि स्थानीयलाई साथ दिएको थियो । जिल्लाको सुदूरपश्चिममा पर्ने नर्जाखानीस्थित सामुदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर स्थापनाबाट सुरु भएको ग्रामीण स्वास्थ्य सुधार परियोजना ७ वर्षमा तीन दर्जन स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर बनाएको थियो । एक दर्जन बढी स्वास्थ्य संस्थामा ल्याब स्थापना भएको छ । यसबाहेक अधिकांश स्वास्थ्य संस्थामा सुत्केरी गराउने बेड र शिशु जन्मेपछि तातो बनाउने मेसिन र गर्भवती महिलाको मुटुको चाल थाहा पाउने मेसिनसमेत जडान भएका छन् ।
सुरक्षित सुत्केरी गराउने कामका लागि अनमिहरूलाई तालिम, नियमित खोप सेवा संचालन गर्न आमा समूह परिचालन, आमा समूहको बैठकमा सामाजिक नक्सांकन गराउने काम र ती नक्सामा गर्भवती, सुत्केरी तथा ५ वर्षमुनिका बालबालिकाको घर बनाएर उनीहरूलाई नियमित भेट गर्दै स्वास्थ्य सुधारमा साथ दिने काम पनि भएको हो । स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार ती अभियानलाई स्वास्थ्यको कार्यक्रममा जोडिएको, उपकरण र भवनको सदुपयोगका लागि विशेष समितिसमेत बनेका छन् ।
