म्याग्दी — प्राचीन ‘रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ को परिचय पाएको व्यापारिक केन्द्र बेनीमा आठौं म्याग्दी महोत्सव सुरु भएको छ ।
‘पर्यटन, कृषि तथा औद्योगिक व्यापार प्रवर्द्धन’को नाम दिइएको महोत्सव आइतबारदेखि यहाँ सुरु भएको हो । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाको पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
‘कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गति दिन सरकार अभिभावकीय भूमिकामा छ । अर्थतन्त्र धराशयी हुनबाट जोगाउन र लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधारमा लागेका छौं,’ कांग्रेस सभापति देउवाले भने ।
महोत्सवमा रेशमी मार्ग र साल्ट ट्रेड रुटको फेरिएको महत्त्वबारे छलफलबाहेक विभिन्न खेलकुद प्रतियोगिता, दोहोरी गीत, स्थानीय लोकसंस्कृति र भेषभूषासमेतको झाँकी, जिल्ला चिनाउने फोटो एवं वृत्तचित्र प्रदर्शनी, स्थानीय कृषि, लघु उद्यमका सामग्री र स्थानीय खानीबाट निकालिएका कच्चा तामा, स्लेट ढुंगालगायतका सामग्रीलाई प्रदर्शनीमा राखिएको उवासंघ म्याग्दीका उपाध्यक्ष राजेश शाक्यले बताए ।
