पोखरा — कान्तिपुर दैनिकका पोखरा संवाददाता दीपक परियार शनिबार थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
उनलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे । पत्रकारद्वय थमन परियार र महेश पहारीको स्मृतिमा प्रेस सेन्टर कास्कीले पुरस्कार स्थापना गरेको थियो । सेन्टरले हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ । पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा प्रेस सेन्टरको कास्की जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पुष्प दाहाल र शोभा बराल, सचिवमा सरोज अधिकारी, सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र अर्याल, सदस्यमा अल्चना श्रेष्ठ, कोपिला सुनार, कविता घर्ती मगर, सागर गिरी, प्रकाश बराल, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी र राजेन्द्र नेपाली रहेका छन् ।
