माघे संक्रान्ति नजिकिँदा बढ्यो तरुलको माग

पुस २६, २०८१

नवीन पौडेल

The demand for yam increased as Maghe Sankranti approached

नवलपुर — माघे संक्रान्ति नजिकिएसँगै पूर्वी नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ छ । जिल्लाको पहाडी भेगमा तरुलको व्यावसायिक खेती हुने गर्छ । काठमाडौं, पोखरा तथा बुटवलबाट व्यवसायी किसानको खेतमै तरुल खरिदका लागि आउने गरेका छन् ।

हरेक वर्ष माग बढेपछि खाली रहेको भिरालो जग्गामा तरुल खेती गरेर आम्दानी लिन थालेको बुलिङ्गटार गाउँपालिका–५ का लालबहादुर सारुले बताए । ‘भिरालो र खालि रहेको जग्गाको सदुपयोग पनि भएको छ, आम्दानी पनि हुने,’ उनले भने,‘ पहिले आफ्नो घरका लागि मात्र तरुल लगाउने किसानले अहिले यसैलाई व्यावसायिक गरेका छन् ।’ किसानले गाउँमा हात्तीपाइले तरुल प्रतिकिलो ५० देखि ६० र वन तरुल प्रतिकिलो १ सय २० देखि १ सय ४० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

किसानले प्रतिधार्नी १ सय ४० मा बिक्री गर्ने तरुल जिल्लाकै बजारमा खुद्रा प्रतिकिलो १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिचौलियाले किसानबाट सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गर्दा किसान मर्कामा परेका हुन् । पुस पहिलो सातादेखि तरुलको माग बढ्दै आएको र माघे संक्रान्ति र माघी पर्वका लागि काठमाडौं, नारायणगढ, पोखरालगायतका बजारबाट माग बढेको हो ।

जिल्लाको हुप्सेकोट, बौदीकाली र  बुलिङ्गटारमा व्यावसायिक रूपमा तरुल खेती हुने गर्छ । अघिल्लो वर्ष ५१ मेट्रिक टन तरुल उत्पादन भएको थियो । यस वर्ष १० प्रतिशतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully