पालुङटारमा २ हजार २ सय ५० किसान सूचीकृत

पुस २५, २०८१

हरिराम उप्रेती

2 thousand 250 farmers registered in Palungtar

गोरखा — व्यावसायिक कृषि प्रवर्द्धनका लागि पालुङटार नगरपालिकाले कृषकको सूचीकरण गरेको छ । हालसम्म २ हजार २ सय ५० जना किसान सूचीकृत भएर प्रमाणीकरण गरिएको नगर प्रमुख विवश चिन्तनले बताए ।

नगरका वडा–६, ७, ८, ९ र १० का किसान सूचीकृत भइसकेका छन् भने वडा–४ र ५ मा किसान सूचीकरण भइरहेको नगर प्रमुख चिन्तनले बताए । अन्य वडामा आगामी आर्थिक वर्षमा किसानको सूचीकरण गरिने उनले बताए । ‘वास्तविक किसान छुट्याउन सूचीकरण थालेका हौं, केही वडामा काम सकिएको छ, दुई वडामा यसै वर्ष गर्दै छौं,’ उनले भने ।

गणक खटाएर किसानको सूचीकरण गरिएको नगरपालिकाले जनाएको छ । ‘किसान सूचीकृत भएपछि पालिकाबाट दिइने अनुदान उपलब्ध गराउन पनि सहज वन्यो, किसानलाई व्यावसायिक बनाउन कुन खालका कार्यक्रम संचालन गर्ने पनि तय गर्न सहज बन्छ,’ उनले भने, ‘किसानले के/के खेती गरेका छन् भनेर त्यहीअनुसार योजना बनाउन पनि सहज वन्छ ।’

किसान सूचीकरणसँगै नगर क्षेत्रका वडामा माटोको परीक्षण पनि गरिएको छ । उपयुक्त बाली छनोटका लागि माटोको परीक्षण गरिएको नगर प्रमुख चिन्तनले बताए । ‘रासायनिक मलले माटोको उर्वराशक्ति नष्ट हुँदै छ, पालिकाभित्रको खेतबारीमा माटोको अवस्था बुझ्न पनि खोजेका हौं,’ उनले भने, ‘माटो परीक्षणपछि कुन क्षेत्रमा कस्ता खालका खेती गर्न सकिन्छ, त्यही अनुसार प्रोत्साहन गर्छौं, माटो बिग्रिएको भए सुधारको काम पनि हुन्छ ।’

बिहीबार १५ औं नगरसभाबाट पारित २०८१/०८२ को नीति तथा कार्यक्रमको अर्धवार्षिक समीक्षामा नगरपालिकाले दुईवटा कोल्ड स्टोर निर्माण गरिएको पनि जानकारी गराएको छ । किसानले उत्पादन गरेका बस्तुहरूको बजारीकरण र भण्डारणका लागि वडा नम्बर ९ मा १८० मेट्रिक टन क्षमताको सुविधा सम्पन्न कोल्ड स्टोरको निर्माण गरिएको जनाइएको छ । ‘९ नम्बर वडामा बनेको कोल्डस्टोर संचालनको तयारीमा छ,’ उनले भने ।

वडा ४ मा पनि १ सय ६० मेट्रिक टनको कोल्ड स्टोर निर्माण अन्तिम चरणमा पुगेको छ । ‘बाँझो जमिनको प्रयोग उत्पादनमा सहयोग’ नीतिअनुरूप उत्पादकत्वमा वृद्धिका लागि ११ ठाउँको २ सय २० रोपनी जमिन सिंचाइ हुने गरी सिंचाइ कुलो निर्माण गरिएको पनि समीक्षामा जानकारी गराइएको थियो ।

नगरपालिकाले दुधमा प्रतिलिटर ३ रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि संचालन थालेको छ । पालुङटार–७ को जुडीखोला र ९ को शेरामा दुग्ध संकलन केन्द्र संचालन गरी अनुदान उपलब्ध गराइएको चिन्तनले जानकारी दिए । ‘वनको बाँदर वनैमा कार्यक्रम’ अन्तर्गत सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा वन क्षेत्र र खाली जमिनमा ११ हजार ६ सय ६५ फलफूजन्य बिरुवा रोपिएको पनि सभामा जानकारी गराइएको थियो ।

अर्धवार्षिक समीक्षामा नगरपालिकाको चालु आर्थिक वर्षको प्रगति औसत २५.२२ प्रतिशत रहेको जानकारी गराइएको छ । पुँजीगततर्फ ९ प्रतिशत र चालुतर्फको वित्तीय प्रगति ३२.९ प्रतिशत रहेको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully