रोल्पाका पुनको शव मध्यमर्स्याङ्दीका बाँध क्षेत्रमा फेला

पुस २४, २०८१

आश गुरुङ

Rolpa Pun's dead body was found in Madhyamarsyangka dam area

लमजुङ — बेंसीसहर नगरपालिका-१, उदिपुर दलालस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा बुधबार एकजना पुरुषको शव फेला परेको छ ।

आंशिक रुपमा सडेको अवस्थामा शव फेला परेको र उक्त शव रोल्पा जिल्ला सुनछहरी गाउँपालिका-५, असलाका ४३ वर्षीय तिर्खबहादुर पुनको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बुधबार दिउँसो २ बजेतिर खबर आएको बताए । बाँधको किनार पानीमा घोप्टो परेर आधाजसो सडिसकेको अवस्थामा शव फेला परेको उनले बताए ।

प्रहरीका अनुसार कामको सिलसिलामा लमजुङ आएर पुस ६ गते आएर बेंसीसहरको मनाङे चौताराको एउटा होटलमा बसेको र ७ गते दिउँसो शौचालय जान्छु भनी हिँडेका उनी त्यसपछि हराएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजकिशोर साह तेलीको कमाण्डमा घटनास्थल पुगेको प्रहरी टोलीले सबै मुचुल्का सकेर शव परीक्षणका लागि लमजुङ अस्पताल ल्याएको छ । प्रहरी निरीक्षक तेलीले शव क्रेनको सहायताले पानीबाट निकालिएको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully