आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्नुपर्ने समय भए पनि अर्थ मन्त्रालय अहिलेसम्म तयारीमा जुटेको छैन ।
कास्की — सरकार सञ्चालनमा प्रमुख भूमिका रहने मन्त्रालय हो, आर्थिक मामिला । अर्थ मन्त्रालयको नेतृत्व कमजोर भयो भने सरकार स्वयं कमजोर बन्छ । प्रदेशस्तरीय मन्त्रालयमा संघबाट नै सचिव खटाइन्छ ।
तर संघबाट सचिव नआउँदा गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय निमित्त सचिव (उपसचिव)को भरमा छ । जसका कारण सरकारका कामकाज चलायमान हुन् सकेका छैनन् ।
मुख्यमन्त्री कार्यालयले आफू अनुकूलको निमित्त सचिव खटाउँदा पनि समस्या ज्युँका त्युँ रहेको मन्त्रालय स्रोतले जनाएको छ । यति बेला प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जुट्ने समय हो । तर, अर्थ मन्त्रालय गत असोज १६ गतेदेखि सचिवविहीन छ । मन्त्रालयमा प्रदेश तहकै उपसचिवलाई जिम्मेवारी तोकिँदा मन्त्रालयमा भएका तीन वटा उपसचिवबीच समन्वय र सहकार्य छैन । संघ र प्रदेशबाट खटिएका कर्मचारीबीचको द्वन्द्वले मन्त्रालयमा समस्या निम्त्याएको हो ।
बजेट बनाउँदा आएका सचिव पुरुषोत्तम शर्मा तीन महिनामै सरुवा भए । ‘अर्थको नीतिगत भूमिकालाई कमजोर बनाई राजनीतिक लाभ लिने उद्देश्य सरकारको छ,’ अर्थ मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रालयमा काम गर्ने वातावरण नै छैन ।’ यातायात कार्यालय पोखरामा कार्यरत डिल्लीराम रिज्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको थियो । मुख्यमन्त्री कार्यालयमा भूमिकाविहीन (बरण्डा) राखिएका रिज्याललाई अर्थमा निमित्तको जिम्मेवारी दिएर सरकारले आफू अनुकूलको काम गर्दै आएको स्रोतको भनाइ छ ।
निमित्त सचिवले जिम्मेवारी लिँदा नीतिगत निर्णय लिनको लागि अधिकारको स्पष्ट प्रत्यायोजन नहुने अर्थ मन्त्रालय स्वयंले जनाएको छ । ‘अर्थले लिने महत्त्वपूर्ण निर्णयमा अन्यौलता सिर्जना हुन्छ,’ स्रोतले भन्यो, ‘यसो त मन्त्रालयमा प्रदेशको बजेट महाशाखा प्रमुखलाई समेत भूमिकाविहीन बनाइएको छ । महाशाखा पनि निमित्त सचिवकै जिम्मेवारीमा छ ।’ अर्थमा अहिले प्रशासन, बजेट र वित्त महाशाखा छन् ।
दुई महाशाखाको जिम्मेवारी तोकिएका अर्को उपसचिवलाई जिम्मेवारी दिइएको छैन । बजेट महाशाखाको जिम्मेवारी पनि निमित्त सचिवले नै लिएको आरोप कर्मचारीको छ ।
प्रशासन हेर्ने उपसचिव श्रीप्रसाद अधिकारीलाई सरुवा गरी स्वास्थ्य निर्देशनालय पठाइएको थियो । तर सरुवाप्रति असन्तुष्टि जनाउँदै उनी सरुवा भएको कार्यालय गएका छैनन् । हाजिरीसमेत नगरेका श्रीप्रसाद अधिकारी अर्थमा नै जाने आउने गर्छन् । रिज्याललाई उनको ठाउँमा ल्याइएको हो । अर्थ मन्त्रालयको सूचना प्रणाली (समग्र बजेट प्रणाली) हेर्ने गोविन्द रिजाललाई पनि पर्यटन तथा उद्योग मन्त्रालय पठाइयो ।
सचिव र महाशाखा प्रमुख नतोकिएको कारण निष्पक्ष रूपमा काम गर्ने वातावरण नभएकोले समग्र बजेट प्रणाली हेर्ने कम्प्युटर अधिकृत गोविन्द रिजाल पनि आर्थिक मामिला छोडेर पर्यटन तर्फ सरुवा भई गएको आर्थिक मामिला मन्त्रालयकै स्रोतको दाबी छ ।
उनका ठाउँमा राजनीतिक आस्थाको आधारमा तनहुँ यातायात कार्यालयमा कार्यरत रामकृष्ण श्रेष्ठलाई ल्याइएको छ ।
‘समग्रमा बजेट तथा राजश्व व्यवस्थापनमा विज्ञता प्राप्त गरेका अनुभवी कर्मचारीलाई पाखा लगाउँदै आफू अनुकूलका राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरी ल्याउँदा अहिले अर्थ मन्त्रालय भद्रगोल छ,’ स्रोतले भन्यो ।
निमित्त सचिव डिल्लीराम रिज्यालले भने अहिले महत्त्वपूर्ण निर्णय लिने समय नरहेको बताए । ‘मन्त्रालयमा अव केही दिनभित्र सचिव आउनुहुन्छ,’ उनले भने । विषयगत मन्त्रालयले आफैंले निर्णय लिनुपर्ने विषय पनि अर्थ मन्त्रालय पठाउँदा कतिपय निर्णय अर्थले लिन कठिनाइ भएको बताइएको छ ।
