बागलुङ — सदरमुकाम बागलुङबाट डेढ घण्टाको यात्रा गरेपछि पुगिने कालीमाटीस्थित गैह्रागाउँमा एक दर्जन घर भत्किएका छन् । अरु केही जीर्ण छन् । मानिसहरू बस्न छाडेका घर त ४० भन्दा बढी छन् । त्यसकै बीचमा एउटा पक्की घर बनेको छ । तर त्यो घरलाई पनि झारले घेरेको छ ।
भत्केर भग्नावशेष बनेको घर विभेदविरुद्धका अभियन्ता भगत सर्वजित विश्वकर्माको हो । उनका छोराछोरी समेतको निधन भइसकेको छ । तर छिमेकीहरूले पनि घर छाडिसकेका छन् । तर सामाजिक अगुवाहरूले भगतको घर संरक्षण गर्ने, संग्रहालय बनाउने तथा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान संचालन गर्न थालेको काम पनि अलपत्र छ ।
६ वर्षअघि बनाएको प्रतिष्ठानको घरसमेत अहिले झारैझारले छोपिएको छ । गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिका समेतको २० लाख रुपैयाँ खर्चेर बनाइएको उक्त घर अहिले अलपत्र परिसकेको हो । यहाँ बनाइने भनिएको संग्रहालयको लक्ष्य पनि तुहिएको छ ।
साथै, भगत सर्वजित विश्वकर्माको अर्धकदको मुर्ति बनाउने योजना पनि अलपत्र बनेको छ । विश्वकर्माको नाउँमा गठन भएको प्रतिष्ठानका पदाधिकारीनै राजधानीमा बस्छन् । उनीहरूले उतै घर बनाएका छन् । गाउँ छाडेर गएकोले सुनसान भइसकेको छ । त्यसैले प्रतिष्ठानको काम समेत अलपत्र परेको हो ।
‘काठमाडौ बस्नेहरूले उतै कमाएका होलान्, यता फर्केर आएनन्, बनाएका घर पनि जंगल बनिसक्यो,’ स्थानीय हर्कमान बिकले भने, ‘प्रतिष्ठान र संग्रहालय बन्ने हो भने सुनसान गाउँपनि केही बस्न लायक बन्ने थियो ।’
सदरमुकामदेखि यहाँसम्म पुग्ने सडक समेत बन्दैछ । नजिकै विद्यालय, स्वास्थ्य चौकी समेत छ । तर सिंगो गैह्रागाउँबासी बसाइँ सरेर कोही सदरमुकाम त कोही राजधानी गइसकेकोले यहाँ संचालित योजनाका लागि काम गरिदिने समेत कोही नभएका हुन् ।
प्रतिष्ठानका अध्यक्ष रामकृष्ण सुनार, वरिष्ठ उपाध्यक्ष होमबहादुर सुनार, उपाध्यक्ष लाबहादुर सुनार समेत काठमाडौंमा छन् । सचिव परशुराम सुनार सदरमुकाममा सुनचाँदी व्यवसाय गरेर बसेका छन् । अन्य पदाधिकारी र सदस्य पनि पेशा व्यवसायमै छन् ।
‘प्रतिष्ठानलाई आफ्नै घरमा राख्ने, संग्रहालय बनाउने, भगतको मुर्ति कुँद्ने र पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो,’ सचिव परशुराम सुनारले भने,‘सबै जना राजधानी बस्न थालेपछि यताको काम अलपत्र भयो ।’ माइन्युट समेत अध्यक्षले लगेपछि बैठक बस्ने तथा अन्य स्रोतसाधनको खोजी गर्न बैठक र भेला बोलाउन पनि नपाएको उनले बताए ।
बिसं १९५० सालमा कालीमाटीको गैह्रागाउँमा जन्मेका विश्वकर्मा जातीय विभेदविरुद्धको अभियान थाल्ने संस्थापक थिए । आफैँ संस्कृत, वेद र पुराणको अध्ययन गरेर त्यसको मर्म अनुसारको काम गर्न लगाएकोले उनको अभियानलाई सबैले साथ दिएका थिए ।
बिसं २०१२ सालमा भगतको निधन भएको थियो । २००७ सालमा हिक्मत सिंह, लक्ष्मीनारायण विश्वकर्मा, मनवीर विश्वकर्मा र रामशरण विश्वकर्माको साथ लिएर निर्माण थालिएको विद्यालय २००९ बाट संचालित छ । विद्यालयको नाउँसमेत ‘विश्वकर्मा मावि’ छ ।
विभेदविरुद्ध लड्दा राज्यका शासकले उनको घर गोठ भत्काएका थिए । गाथगद्दी ताकेको आरोपमा विश्वकर्मालाई तत्कालीन शासकले १७ महिना जेल हालेका थिए । विश्वकर्माले श्री ३ मोहन शमशेर राणा समक्ष आफ्नो वास्तविक माग राख्ने मौका पाएपछि जेलमुक्त गरिएको इतिहास छ ।
भारतमा पुगेर अध्ययन गरेर फर्केपछि १९९७ सालमा विश्वकर्माले ‘विश्व सर्वजन संघ’ नामक संस्था पनि खोलेका थिए । संस्थागत रुपमा आर्थिक उन्नतीका लागि दलित समुदायमाथिको श्रम शोषण र उत्पीडन हटाउन उनले अगुवाई गरेका थिए । बालीघरे प्रथालाई परिमार्जन गर्न उनले जिन्सीको साटो नगद पाउनुपर्ने आवाज उठाए । उनको आवाजले बालीघरेहरूले ज्याला पाउन थालेको ईतिहास छ ।
विद्यालयलाई विश्वकर्माकै नाम दिएकोमा स्थानीयले गर्व गर्छन् । ‘विश्वकर्माको नामबाटै विद्यालय खुल्दा हामी गर्व गर्ने भएका छौं’ शिक्षक पशुपति शर्माले भने, ‘शिक्षाको विकास नभएको बेला उहाँले यो विद्यालय खोल्नुभएको थियो ।’
शिक्षाको थालनी गरेर जागरण ल्याउने व्यक्ति सिंगो गाउँको गुरु भएको उनले बताए । विश्वकर्माकै नाउँको प्रतिष्ठान र योजना अलपत्र पर्नु दुखद भएको स्थानीय सामाजिक अगुवा जगन्नाथ आचार्यले टिप्पणी गरे । ‘विश्वकर्मा जात विशेषको मात्र होइन, राष्ट्रिय विभूति हुन्,’ आचार्यले भने, ‘प्रतिष्ठानले काम नगरे नगरपालिकाले हस्तक्षेप गरेर भएपनि योजना पुरा गर्ने र सम्पत्तिको सदुपयोग गर्नुपर्छ ।’
प्रतिष्ठानको योजना अलपत्र परेकोबारे वरिष्ठ उपाध्यक्ष होमबहादुर विश्वकर्माले राजधानीबाट गाउँ जान नपाएर काम रोकिएको बताए । ‘केही समयपछि गाउँ जाँदैछौं’ उनले भने, ‘त्यतिबेला बसेर सरसफाइ गरेर नयाँ काम पनि थाल्छौं ।’
समितिमा बस्नेहरू राजधानी लागेपछि काम अलपत्र परेको उनले बताए । हरेक वर्ष नगरपालिकाले प्रतिष्ठानका लागि बजेट समेत व्यवस्थापन गर्दै आएकोमा सदुपयोग नभएको टिप्पणी हुने गरेको छ । बागलुङ नगरपालिकाले विश्वकर्माकै नाउँमा छात्रवृत्ति कोष पनि बनाएको छ ।
प्रतिष्ठाननै सक्रिय नभएपछि कतिपय योजनाको बजेट फिर्ता हुने गरेको बागलुङ नगरपालिका वडा नं ७ का अध्यक्ष मेघनाथ गैरेले बताए । ‘यो वर्ष पनि हामीले ५ लाख बजेट विनियोजन गरेका छौं, तर समिति र प्रतिष्ठानका पदाधिकारी सम्पर्कमा छैनन्,’ उनले भने, ‘पदाधिकारीले नै बेवास्ता गरेपछि सरकारी सम्पत्ति हिनामिना भएको छ ।’ स्थानीयले पनि उक्त सम्पत्ति अलपत्र भएकोमा वडा र नगरको ध्यानाकर्षण गराउन थालेका छन् ।
