लमजुङ — लमजुङको दोर्दी गाउँपालिकाले फोहर र जोखिमयुक्त अवस्थाका सिसालाई पेल्न ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको छ ।
छरिएर रहेका सिसाका बोतलबाट हुने जोखिम कम गर्न र सिसाको उचित व्यवस्थापन गर्न गाउँपालिकाले सिसा पेल्ने मेसिन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।
उनका अनुसार गाउँपालिकाले बजेट व्यवस्थापन गरेर ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको हो । दोर्दी गाउँपालिका–४ नौथर शेराको खेलमैदान नजिकै निर्माण गरिएको साझा सुविधा केन्द्रमा मेसिन जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।
मेसिन हब नेपालमार्फत खरिद गरेर ल्याएको उक्त मेसिन सुरुमा ३–४ दिन सञ्चालनमा ल्याइने बताए । आवश्यकता अनुसार ज्यालादारीमा कामदार राखेर उक्त मेसिन सञ्चालन गरिने उनले बताए ।
‘सुरुका दिनमा गाउँपालिकाले ट्याक्टर भाडामा लिएर सिसाका बोतल तथा टुक्राहरू संकलन गर्नेछ । स्थानीयलाई सिसा व्यवस्थापन गर्न भनिएको छ । स्थानीयले पनि संकलन केन्द्रमा ल्याउनेछन्,’ उनले भने । सिसा पेलेर बनाइएको धूलो सिसा कम्पनीहरूले पुनः प्रयोगका लागि लैजाने गरेको उनले बताए ।
‘हामीले सिसाजन्य सामग्री सकेसम्म प्रयोग नगर्न भनेका छौं । प्रयोग गरिएका सिसाहरूको पुनः प्रयोग गाउँघरमै गर्न र पुनः प्रयोगमा आउन नसक्ने सिसाजन्य वस्तुलाई जोखिम नहुने गरी राख्न भनेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत काफ्लेले भने, ‘कसैगरी फाल्नुपर्ने सिसाहरूलाई संकलन गरेर धूलो बनाउने हो । सिसाजन्य फोहरको न्यूनीकरण, जोखिम न्यूनीकरण, वातावरणलाई सफा र स्वच्छ बनाउने हाम्रो प्रयास हो ।’
