सन् १९९५ यता सबैभन्दा धेरै विदेशी पर्यटकले मनास्लु क्षेत्र घुमे ।
गोरखा — सन् २०२४ मा मनास्लु क्षेत्रमा मात्रै १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का अनुसार यो संख्या सन् १९९५ यताकै सबैभन्दा धेरै हो ।
निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुला गरेको थियो । पहिलो वर्ष ३ सय ४४ जना पर्यटक मनास्लु क्षेत्र घुमेका थिए भने यो सख्या २४ वर्षमा बढेर १० हजारमाथि पुगेको छ ।
एमक्यापका प्रमुख सन्तोष शेरचनले गत चैत र वैशाख तथा असोज र कात्तिकमा मनास्लु क्षेत्र भ्रमण गर्नेहरूको संख्या उल्लेख्य रहेको बताए । असोजमा २ हजार ४ सय १२, कात्तिकमा ३ हजार ३ सय ३ जना पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । गत चैतमा १ हजार ८ सय ११ तथा वैशाखमा १ हजार १ सय ३२ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । शेरचनले भने, ‘सन् २०२३ को तुलनामा सन् २०२४ मा १६ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ ।’
मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्वरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ । शेरचनले सुनाए, ‘ट्रेकिङका लागि मनास्लु क्षेत्र आकर्षक गन्तव्य हो, सडक सञ्जालको विस्तार नभएकाले पनि ट्रेकिङका लागि पर्यटकले मनास्लु रोज्ने गरेका छन् ।
मनास्लु क्षेत्र जैविक विविधता र प्राकृतिक भू–वनोटको हिसाबले सुन्दर ठाउँ भएकाले पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गइरहेको देखिन्छ । यहाँ आएका पर्यटक चुम र नुब्री भ्याली क्षेत्रको भ्रमण तथा लार्के पास गर्ने गर्छन् । पछिल्लो समय मनास्लु क्षेत्र भ्रमण गर्ने नेपाली पर्यटकको संख्यामा पनि उल्लेखनीय वृद्धि भइरहे पनि एमक्यापले विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ ।
