गाउँपालिकाको अस्पतालमै शल्यक्रियामार्फत प्रसूति सेवा

पुस १७, २०८१

सम्झना रसाइली

Obstetric services through surgery in the village hospital

तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँबुखैरेनी अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा प्रदान गर्न सुरु गरिएको छ । अस्पतालले मंगलबार पहिलो पटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरेको हो ।

गोरखा जिल्ला पालुङटारकी २० वर्षीया महिलाको सफल शल्याक्रिया गरिएको अस्पतालका प्रमुख डा. डीबी क्षत्रीले बताए । ‘३९ हप्ताको गर्भ रहेकी उनको ४२ घण्टादेखि पानी बगेको तर प्रसव पीडा भएको थिएन,’ उनले भने, ‘बच्चाले पेटमै दिसा गरेको र मुटुको धड्कन कम भइसकेको तर सुत्केरी व्यथा सुरु नहुँदा आकस्मिक शल्यक्रिया गरेका हौं । अहिले शिशु र आमा दुवैको स्वास्थ्य अवस्था स्वस्थ छ ।’

अस्पतालका प्रमुख डा. क्षत्री, मेडिकल अधिकृत डा. अविनाशकुमार रौनियार, एनेस्थेसिया सहायक भानु अर्याल, नर्सहरु सीमा सापकोटा क्षत्री, सविता विष्ट, पूजा रावल, मीना श्रेष्ठ लगायतको सहयोगमा शल्यक्रियामार्फत प्रसूति गराइएको हो । 

शल्यक्रियामार्फत प्रसूति सेवाका लागि यही महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति प्रदान गरेको थियो । आँबुखैरेनी अस्पतालका अध्यक्ष शुक्र चुमानले अस्पताल पुगेर नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि अस्पतालले नागरिकलाई दिने स्वास्थ्य सेवामा एक कदम फड्को मारेको उनले बताए । 

अस्पतालबाट सानाठूला शल्यक्रियाको सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा गत पुस १३ र मंसिर २२ गते हर्नियाको सफल शल्यक्रिया गरिएको थियो ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully