म्याग्दीमा टिपर दुर्घटना हुँदा दुईजनाको  मृत्यु

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Two people died in a tipper accident in Myagdi

म्याग्दी (बेनी) — म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुक्लमा आज  टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट टिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

बीपी २– ए ७५६८ नम्बरको  टिपर सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादव र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका शत्रुधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए । 

गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ । नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully