लमजुङ — अमेरिकी स्वयंसेवी संस्था पिस कर्पस् नेपालका स्वयंसेवकहरुले गरेको कार्यबारे जानकारी लिन नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन लमजुङ आएका छन् ।
राजदूत थम्प्सन र बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालबीच नगरपालिका प्रमुख अर्यालको कार्यकक्षमा बुधबार भेटवार्ता भएको छ । राजदूत थम्प्सनसहित लमजुङ आएका पिस कर्पस् नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथ, कृषि कार्यक्रम व्यवस्थापक किशोर घिमिरेलगायतलाई नगरपालिका प्रमुख अर्याल, उपप्रमुख पद्मा गुरुङ, प्रवक्ता हिरालाल विश्वकर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत किसानराज चिलुवाललगायतले ढाकाटोपी, फूलमाला र अबिरले स्वागत गरे ।
नगरप्रमुख अर्यालले करिब २ वर्षदेखि बेंसीसहर नगरपालिका २ को चिसापानी र वडा नं. ३ को दारेगौंडामा खटिएका स्वयंसेवकले गरेका कार्यबारे जानकारी दिए । उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि र खाद्यसुरक्षाबारे जनचेतना फैलाउने कार्य गरिरहेको प्रमुख अर्यालले बताए । स्वयंसेवकले गरेका कार्यबारे वडा नं. २ का वडाध्यक्ष मदनबहादुर राना, वडा नं. ३ का वडाअध्यक्ष चित्रबहादुर दनाईं, स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहरा, कृषि शाखाका मिलन श्रेष्ठलगायतले पृष्ठपोषण गरे ।
राजदूत थम्प्सनले नेपाली प्रकृति र संस्कृतिलाई नजिकबाट नियालिरहेको बताए । नेपाली भाषा, कलासंस्कृति र प्रकृतिसँग आफ्ना देशका नागरिक घुलमिल भएको सुन्न पाउँदा खुसी लागेको उनले बताए । उनले नेपाली र नेपालीको स्वास्थ्य, शिक्षा, खाद्यसुरक्षामा सहयोग पुर्याउने उद्देश्यले अमेरिकन स्वयम्सेवकहरु खटिरहेको बताए ।
पिस कर्पस् नेपालका देशीय निर्देशक कफ्रथका अनुसार नेपालमा अहिले विभिन्न जिल्लामा ४० जना स्वयम्सेवक खटिरहेका छन् । उनीहरुको अवधि २७ महिनाको हुन्छ । पिस कर्पस्का स्वयम्सेवकहरुले गण्डकी प्रदेशको लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, गोरखालगायत जिल्लामा काम गरिरहेको उनले बताए ।
नेपाली र अमेरिकी सरकारबीच सन् १९६२ को अगस्ट २४ तारिखमा नेपालमा पिस कर्पस् कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । नेपालमा ४ हजार पिस कर्पस् स्वयंसेवकहरुले आफ्नो अवधि पूरा गरी फर्किसकेको उनले बताए ।
