पोखरा सडक महोत्सव हुने

मंसिर २४, २०८१

दीपक परियार

Pokhara Street Festival will be held

पोखरा — रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले लेकसाइडमा आयोजना गर्ने पोखरा सडक महोत्सवको २६ औं संस्करण आगामी पुस १३ देखि १७ सम्म हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर गन्तव्यस्थलका रूपमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले लेकसाइडको तीन किलोमिटर क्षेत्रमा यो महोत्सव हुन लागेको हो ।

रेवान पोखराले ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक विकास भट्टराईले बसुन्धरा पार्कदेखि गैह्राको चौतारासम्मको क्षेत्रमा सडक महोत्सव आयोजना हुने जानकारी दिए । उनका अनुसार महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट रहेका छन् । खेलकुदतर्फ डुंगा दौड, वेटर दौड, टग अफ वार, मःम तथा ससेज खाने प्रतियोगिता रहने छन् । 

सचेतनामूलक सडक नाटक र पोखराको पर्यटन प्रवर्द्धन, विकास, अवसर तथा चुनौतीमा केन्द्रित रहेर संवाद कार्यक्रमको पनि आयोजना गरिएको छ । पोखरा सेरोफेरोका स्थानीय उत्पादन, हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, वनस्पति लगायत उपजलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिने संयोजक भट्टराईले बताए । 

महोत्सवका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले यसपल्ट लमजुङको लोपोन्मुख कृष्ण चरित्र नृत्य र भोजपुरी नृत्यलाई पनि समावेश गरिने बताए । महोत्सवका प्रचारप्रसार संयोजक वीरेन्द्र शेरचनले सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको बताए । ‘महोत्सवमा ४ देखि ५ लाख आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति हुने गरेको हाम्रो अनुमान छ,’ उनले भने, ‘विशेषगरी भारतीय पर्यटक यो समयमा नयाँ वर्ष मनाउन उल्लेख्य रूपमा पोखरा आउने गरेका छन् ।’

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन रहेको स्मरण गरे । ‘नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे,’ उनले भने, ‘तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना भएको छ ।’ महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमनमा निकै वृद्धि भएको उनले सुनाए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully