घाँस काट्न जंगल गएकी सुचिनाको शव खाल्डोमा

मंसिर २२, २०८१

हरिराम उप्रेती

The body of Suchina, who had gone to the forest to cut grass, was found in a ditch

गोरखा — सुलिकोट गाउँपालिका–१ बारपाककी १८ वर्षीया सुचिना घलेको खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको छ । शनिबार घाँस काट्न जंगल गएकी घलेको मंगलबार बारपाकस्थित मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले बताए ।

घलेको शव कर्तव्य गरी मारेर खाल्डोभित्र पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट देखिएको र दाहिने हातका दुई औंला पनि छिनालिएको अवस्थामा खाल्डोभित्र शव भेटिएको एसपी पाठकले बताए ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले प्रतिकार गरेको जस्तो देखिन्छ, दाहिने हातका दुईवटा औंला पनि छिनालिएको अवस्थामा शव खाल्डोभित्र भेट्यौं,’ उनले भने, ‘धारिलो हतियार प्रयोग भएको छ, अत्यधिक रक्तस्राव पनि भएको देखिएको छ, जंगलमा पात तथा वरपर रगतका टाटा र कपाल छरिएको अवस्थामा भेटेका छौं ।’ 

शवसँगै घाँस काट्न प्रयोग भएको डोको पनि खाल्डोमा राखेर पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ‘एउटा डोको शवसँगै खाल्डोमा गाडेको र अर्को घाँससहितको डोको नजिकै छ,’ उनले भने, ‘एक ठाउँमा घटना घटाएर अर्को ठाउँमा लगेर शव खाल्डो खनेर गाडिएको देखिन्छ ।’ घटनाको प्रकृति हेर्दा हत्या भएको प्रहरी निष्कर्ष छ ।

जघन्य प्रकृतिको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीको कमान्डमा तीन दिनदेखि प्रहरी टोली वारपाकमा छ । गम्भीर प्रकृतिको घटना भएकाले सूक्ष्म तवरले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ । 

धार्चे गाउँपालिका–६ काशीगाउँ माइती भएकी घले वैशाखमा बिहे गरी वारपाक पुगेकी थिइन् । माइती पक्षले घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् । धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङसहितका स्थानीय बुधबार घटनास्थल पुगेका थिए ।

‘दोषी जो भए पनि छिटोभन्दा छिटो पत्ता लाग्छ भन्ने विश्वास लिएका छौं,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘अमानवीय र क्रूर तवरले हत्या भएको छ, टाउकोमा दुई ठाउँमा चोट छ, दुईवटा औंला छिनालिएको छ, हातको पन्जामा पनि चोट छ, यस्तो क्रूर हत्याको दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन प्रहरीसमक्ष पनि आग्रह गरेका छौं ।’ 

सुचिनाको हत्यापछि सिंगो बारपाक र माइती काशीगाउँ अहिले शोकमा डुबेको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully