सहकारी ठगी मुद्दामा अध्यक्ष पक्राउ, कोषाध्यक्ष र प्रबन्धक कारागार चलान

मंसिर १९, २०८१

प्रकाश बराल

Chairman arrested, treasurer and manager jailed in co-operative fraud case

बागलुङ — बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको आरोपमा बागलुङको एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । कोषाध्यक्ष र प्रबन्धक भने पुर्पक्षका लागि थुनामा गइसकेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नम्बर–१ कार्किनेटामा रहेको ‘नागढुंगा बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष ६४ वर्षीय नारायण श्रेष्ठ सोमबार राति काठमाडौंमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी रविन विष्टले बताए ।

त्यसअघि पक्राउ परेका कार्यवाहक अध्यक्ष तथा कोषाध्यक्ष ५० वर्षीय दीर्घनारायण शर्मा र २६ वर्षीय प्रबन्धक अनिल थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि करागार पठाएको छ । उनीहरूले बचतकर्ताको ५ करोड ६४ लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।

पक्राउ पुर्जी जारी भएका उक्त सहकारीका अन्य १९ जना सञ्चालक र सदस्य फरार छन् । फलेवास नगरपालिका वडा नम्बर–१ की पीडित बचतकर्ता कमला शर्मासहित ४ सय ५ जनाको जाहेरीपछि उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले गत कात्तिक ८ गते सहकारी ठगी मुद्दा दर्ता गरेको थियो । 

उक्त सहकारीका कावा अध्यक्षसमेत रहेका कोषाध्यक्ष शर्मा र थापालाई मंसिर ७ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो । गत कात्तिक १० गते शर्मा र कात्तिक २६ गते थापा पक्राउ परेका थिए । उनीहरूले सहकारी ऐन २०७४ को दफा १२२ र गण्डकी प्रदेश सहकारी २०७५ को दफा ८४ को कसुर गरेको अभियोगमा दाबी छ । सञ्चालकहरूले झन्डै साढे ५ करोड ६४ लाख रुपैयाँ रकम ठगी गरेकोले सोही बराबरको बिगो भराउने तथा थप कारबाहीसमेतको माग दाबी गरिएको हो ।

सहकारी रजिस्ट्रारको कार्यालय पोखराबाट आएका वित्तीय विश्लेषक तथा परामर्शदाता निर्मल गौतमले गरेको अध्ययन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूसहित २३ जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेका थिए । तीमध्ये फलेवास नगरपालिका–१ का ५९ वर्षीय तिलकान्त शर्माको भने निधन भइसकेको छ ।

फरार अभियुक्तको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । २०६७ देखि हालसम्म भएका सबै साधारणभाबाट शर्मा कोषाध्यक्ष र ऋण समितिको संयोजक बनेको रेकर्ड छ । साथै दुई वर्षअघि तत्कालीन अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएपछि कोषाध्यक्ष शर्मा नै कार्यवाहक अध्यक्ष भएका थिए । त्यसपछि सहकारीमा बचतकर्ताको रकम अपचलन शुरु भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सञ्चालकहरुले केही सदस्य र सम्पर्कमा कम आउने बचतकर्ताहरूको रकमसमेत व्यवस्थापक र सञ्चालकको खातामा गाभिएको समेत भेटिएको थियो ।

व्यवस्थापक थापाले २९ करोड ६९ लाख रुपैयाँ असुल हुनै नसक्ने ऋण प्रवाह गरेको समेत रजिस्ट्रारको कार्यालयले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । २०७४ सालमा बजार प्रतिनिधिका रूपमा प्रवेश गरेर एक वर्षमै थापा व्यवस्थापक भएका थिए । ‘बचतकर्ता आएमा ब्याजबाहेक फिर्ता दिने, पासवर्ड भने व्यवस्थापककै प्रयोग गर्ने भन्दै सञ्चालकले बचत रकम लगेका छन्,’ थापाको बयानमा उल्लेख छ । तर पछि अनुसन्धानका क्रममा सञ्चालकले थापाले गरेको हिनामिना हामीले कसरी तिर्ने भन्ने आरोप लगाएको उनले बयान दिएका छन् ।

उनीहरूले फर्जी ऋणको कारोबार बनाइ बढी रकम निकासी गरेको भेटिएपछि उजुरी परेको हो । संघीय सहकरी ऐन २०७४ र गण्डकी प्रदेश सहकारी ऐन २०७५ ले उक्त कसुर गर्ने सञ्चालकहरूलाई ४ वर्षदेखि ६ वर्षसम्म कैद, बिगो भराउनेलगायतको सजायको व्यवस्था गरेको छ । उक्त मुद्दामा अनिल थापालाई ८७ लाख, रुद्रमणि शर्मालाई ७६ लाख, ढाकाराम शर्मालाई ११ लाख दीर्घनारायण श्रेष्ठलाई ९६ लाख जरिवानाको मागदाबीसमेत गरिएको छ । त्यसबाहेक अन्य सदस्यलाई पनि कसुरका आधारमा जरिवाना र जेल सजायको माग गरिएको हो ।

अध्ययन प्रतिवेदनमा ४ करोड ८० लाख ८० हजार रुपैयाँ बचत रकम अपचलन भएको उल्लेख छ । सञ्चालकहरूले छोरा, छोरीसहित घर परिवारका सदस्यको नाउँमा समेत लाखौं ऋण लिएका छन् । बयानका क्रममा अभियुक्तहरूले सहकारीको रकम निकासी गर्न प्रबन्धकको नाममा चेक काटेको, अधिक सेवा शुल्क रकम उठाएको समेत भेटिएको हो ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully