बलात्कार आरोपमा पुरुष पक्राउ

मंसिर १९, २०८१

Man arrested on rape charges

म्याग्दी — मालिका गाउँपालिका घर भई हाल बेनी नगरपालिका–२ मा डेरा गरी बस्ने ३७ वर्षीय एक पुरुष बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । स्थानीय आधारभूत विद्यालयमा अध्ययनरत ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

बुधबार उपचारका लागि बेनी अस्पताल पुर्‍याइएकामा डाक्टरले जाँच गर्दा बालिकाको गर्भमा झन्डै तीन महिनाको गर्भ रहेको खुलेपछि उनी बलात्कृत भएको खुलेको हो । 

बालिकाकी आमाले ५ वर्षअघि दोस्रो विवाह गरेपछि जुन पुरुषसँग बस्दै आएकी थिइन्, उनैले बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले ती पुरुषलाई तत्काल पक्राउ गरी अदालतको स्वीकृतिमा थुनामा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।

‘आफ्नी झड्केली छोरीलाई बलात्कार गरी गर्भवती बनाएको घटना हामीले पनि ढिलो गरी थाहा पायौं । ती बालिकालाई उपचार गर्न अस्पताल नलगिएको भए यो घटना गुपचुप नै हुन सक्थ्यो,’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले भने, ‘घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’

आमाको संरक्षकत्वमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी बालिकाले ०८१ भदौ १२ गते डेरामै पहिलो पटक र त्यसपछि पटक–पटक आफूलाई बलात्कार गरेको बताएकी छन् । बलात्कार आरोपमा पक्राउ परेका पुरुषको प्रारम्भिक बयान बनावटी हुन सक्ने ठानेको र सोही अनुसार अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ ।

Link copied successfully