बस्तीसँगैको क्रसर उद्योगले ध्वनि र वायु प्रदूषण गराएको स्थानीयवासीको गुनासो
गोरखा — न्यूनतम मापदण्डसमेत पूरा नगरी अजिरकोट गाउँपालिका–४ ढोडेनीमा सञ्चालित क्रसर उद्योग तत्काल हटाउन स्थानीयले माग गरेका छन् । सडक आयोजनाका लागि खोलिएको क्रसर उद्योग ढोडेनीको बस्तीसँगै छ ।
नदी किनार तथा बस्ती छेउ रहेको क्रसर उद्योगको ध्वनि र वायु प्रदूषणको आवाजले हैरानी बेहोर्नुपरेको स्थानीय सुर्य राना मगरले बताए ।
‘विहानदेखि साँझ अबेरसम्म क्रसर चल्छ, धुलो बस्ती सम्मै पुग्छ, साँझ अबेर सम्मै क्रसर चल्छ, यसको आवाजले बस्न नसकिने भयो,’ उनले भने ।
सिम्जुङ–घ्याच्चोक सडक निर्माण प्रयोजनका लागि भन्दै १ वर्षअघि क्रसर उद्योग स्थापना गरिएको थियो । तर सडक निर्माणको सुरुको विन्दु सिम्जुङ गाउँबाट झण्डै १० किलोमिटरको दुरीमा क्रसर उद्योग संचालनमा रहेको स्थानीयहरुले बताए । कुनै पनि क्रसर उद्योगहरु बस्ती, नदी किनारबाट पाँच-पाँच सय मिटरभित्र संचालन र स्थापना गर्न नपाइने प्रावधान छ ।
मापदण्ड विपरीतको क्रसर उद्योगको मनोमानीबाट स्थानीय आजित छन् । सडक आयोजनाको लागि आवश्यक निर्माण सामाग्रीका लागि मात्र भनेर स्थापना भएको उद्योगका सामाग्री व्यापारिक प्रयोजनका लागि पनि बिक्री भइरहेको अजिरकोट–४ का मनबहादुर तामाङले बताए ।
‘सडक निर्माण गर्ने ठेकेदारले क्रसर संचालन गरेका हुन्, तर क्रसर भएको स्थानबाट सडकको सुरुको विन्दु झण्डै १० किलोमिटर माथि छ,’ उनले भने,‘त्रसरको निर्माण सामाग्री सडकमा पनि प्रयोग भएको त भएको छ, तर हाइड्रो लगायतका अन्य क्षेत्रमा पनि विक्री गरिन्छ ।’
सडक आयोजनाका लागि स्थापित क्रसर उद्योगले ब्यपारीक प्रयोजनका लागि निर्माण सामाग्री विक्री वितरण गर्न नमिल्ने प्रावधान छ । स्थानीयले यस अघि पनि पटक/पटक क्रसर उद्योग संचालन नगर्न आग्रह गर्दै आएका छन् ।
सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी नव कान्तिपुर–कन्ट्रक्सन प्रालिका प्रोपाइटर जनक भट्टले उद्योग संचालनका लागि न्यूनतम मापदण्डको समेत ख्याल नगरेको स्थानीयको आरोप छ । मोटरेवल पुल र सडकको छेउ, नदी किनार र बस्ती नजिकै संचालित क्रसर उद्योगले बस्तीका वासिन्दालाई हैरानी दिएको स्थानीय भिम कुमार गुरुङले बताए ।
‘सबैभन्दा ठुलो समस्या भनेको धुलो र क्रसरको आवाजले वस्नै नसकिने भयो,’ उनले भने,‘ध्वनि र वायु प्रदूषण त भइहाल्यो, विहानदेखि बेलुकीसम्मको आवाजले बालवालिकाको पठन पाठनमा समेत असर पुग्यो, यसको धुलोले स्वास्थ्यमा पनि असर गर्ने भयो ।’
गाउँभेलाबाट निर्णय गराएर स्थानीयले क्रसर तत्काल हटाउन माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय छन् । ४६ जना स्थानीयको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय आएका उनीहरुले क्रसर उद्योग सो स्थानबाट हटाई कानुनको उल्लंघन गरी व्यवसाय गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको माग समेत गरे ।
गाउँपालिकालाई मौखिक जानकारी गराउँदा पनि मागको सुनुवाई नभएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकासँग आयोजनाका लागि अस्थायी अनुमति लिएर नै क्रसर उद्योग संचालन गरेको नव कान्तिपुर कन्ट्रक्सन प्रालिका प्रोपाइटर जनक भट्टले बताए ।
‘अलिअलि गुनासो त गरिहाल्छन् नजिकै ठुलो बस्ती छैन,’ उनले भने,‘ अस्थायी रुपमा संचालनको अनुमति लिएका हौँ, आयोजना अवधिभर चल्छ, सडक निर्माणको काम सकिएपछि खोलेर लान्छौँ ।’ सिम्जुङ–घ्याच्चोक सडकको साढे सात किलोमिटर कालोपत्रेको जिम्मा नवकान्तिपुर कन्ट्रक्सनले पाएको छ ।
दुई वर्षभित्र काम सक्ने गरी गत वर्ष ठेक्का सम्झौता भएको सडकको हाल सम्म ४२ प्रतिशत काम सकिएको पुर्वाधार विकास कार्यलय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले क्रसर उद्योगको अध्ययन र अनुगमनको जिल्ला समन्वय समितिको क्षेत्राधिकार भित्र पर्ने बताए ।
