ढोडेनीमा संचालित क्रसर उद्योग हटाउन माग

मनोमानी तवरले बस्तीनजिकै संचालित क्रसर उद्योगले ध्वनि र वायु प्रदूषण गराएको स्थानीयको गुनासो

मंसिर १९, २०८१

हरिराम उप्रेती

Demand for removal of crusher industry operating in Dhodeni

गोरखा — न्यूनतम मापदण्डसमेत पूरा नगरी अजिरकोट गाउँपालिका–४ ढोडेनीमा संचालित क्रसर उद्योग तत्काल हटाउन स्थानीयले माग गरेका छन् ।

सडक आयोजनाका लागि खोलिएको क्रसर उद्योग ढोडेनीको बस्तीसँगै छ । नदी किनार तथा बस्तीछेउ रहेको क्रसर उद्योगले ध्वनि र वायु प्रदूषण फैलाएकाले हैरानी बेहोर्नुपरेको स्थानीय सूर्य राना मगरले बताए । ‘बिहानदेखि साँझ अबेरसम्म क्रसर चल्छ, धूलो बस्तीसम्मै पुग्छ, साँझ अबेरसम्म चल्ने क्रसरको आवाजले बस्न नसकिने भयो,’ उनले भने । 

सिम्जुङ–घ्याच्चोक सडक निर्माण प्रयोजनका लागि भन्दै एक वर्षअघि क्रसर उद्योग स्थापना गरिएको थियो । तर सडक निर्माणको सुरुको विन्दु सिम्जुङ गाउँबाट झण्डै १० किलोमिटरको दूरीमा क्रसर उद्योग संचालनमा रहेको स्थानीयले बताए । कुनै पनि क्रसर उद्योगहरू बस्ती, नदी किनारबाट पाँच सय मिटरभित्र संचालन र स्थापना गर्न नपाइने प्रावधान छ ।

मापदण्डविपरीतको क्रसर उद्योगको मनोमानीबाट स्थानीय आजित छन् । सडक आयोजनाका लागि आवश्यक निर्माण सामग्रीका लागि मात्र भनेर स्थापना भएको उद्योगका सामग्री व्यापारिक प्रयोजनका लागि पनि बिक्री भइरहेको अजिरकोट–४ का मनबहादुर तामाङले बताए । ‘सडक निर्माण गर्ने ठेकेदारले क्रसर संचालन गरेका हुन्, तर क्रसर भएको स्थानबाट सडकको सुरुको बिन्दु झण्डै १० किलोमिटरमाथि छ,’ उनले भने, ‘त्रसरको निर्माण सामग्री सडकमा पनि प्रयोग भएको छ तर हाइड्रो लगायत अन्य क्षेत्रमा पनि बिक्री गरिन्छ ।’ 

सडक आयोजनाका लागि स्थापित क्रसर उद्योगले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री बिक्री वितरण गर्न नमिल्ने प्रावधान छ । स्थानीयले यसअघि पनि पटक/पटक क्रसर उद्योग संचालन नगर्न आग्रह गर्दै आएका छन् । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी नवकान्तिपुर–कन्ट्रक्सन प्रालिका प्रोपाइटर जनक भट्टले उद्योग संचालनका लागि न्यूनतम मापदण्डको समेत ख्याल नगरेको स्थानीयको आरोप छ । मोटरेबल पुल र सडकको छेउ, नदी किनार र बस्ती नजिकै संचालित क्रसर उद्योगले बस्तीका बासिन्दालाई हैरानी दिएको स्थानीय भीमकुमार गुरुङले बताए । 

‘सबैभन्दा ठूलो समस्या भनेको धूलो र क्रसरको आवाजले बस्नै नसकिने भयो,’ उनले भने, ‘ध्वनि र वायु प्रदूषण त भइहाल्यो, बिहानदेखि बेलुकीसम्मको आवाजले बालबालिकाको पठनपाठनमा समेत असर पुग्यो, यसको धूलोले स्वास्थ्यमा पनि असर गर्ने भयो ।’

गाउँ भेलाबाट निर्णय गराएर स्थानीय क्रसर तत्काल हटाउन माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन् । ४६ जना स्थानीयबासीको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालयमा आएका उनीहरूले सो स्थानबाट क्रसर हटाई कानुनको उल्लंघन गरी व्यवसाय गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको मागसमेत गरे । गाउँपालिकालाई मौखिक जानकारी गराउँदा मागको सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयसम्म आउनु परेको स्थानीयबासीले गुनासो गरे । 

आयोजनाका लागि गाउँपालिकासँग अस्थायी अनुमति लिएर नै क्रसर उद्योग संचालन गरेको नवकान्तिपुर कन्ट्रक्सन प्रालिका प्रोपाइटर जनक भट्टले बताए । ‘अलि अलि कम्प्लेन त आइहाल्छ, नजिकै ठूलो बस्ती छैन,’ उनले भने, ‘अस्थायी रूपमा संचालनको अनुमति लिएका हौं, आयोजना अवधिभर चल्छ, सडक निर्माणको काम सकिएपछि स्वतः बन्द हुन्छ ।’

सिम्जुङ–घ्याच्चोक सडकको साढे सात किलोमिटर कालोपत्रको जिम्मा पाएको नवकान्तिपुर कन्ट्रक्सनले क्रसर उद्योग स्थापना गरेको हो । दुई वर्षभित्र काम सक्ने गरी गत वर्ष ठेक्का सम्झौता भएको सडकको हालसम्म ४२ प्रतिशत काम सकिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले क्रसर उद्योगको अध्ययन र अनुगमनको जिल्ला समन्वय समितिको क्षेत्राधिकारभित्र पर्ने बताए । ‘समन्वय समितिका प्रमुखको संयोजकत्वमा एउटा समिति हुन्छ, यस विषयमा त्यहाँ पनि छलफल गर्छौं,’ उनले भने ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully