गोरखा — गोरखा नगरपालिका–५ मा आइतबार भएको उपनिर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६ उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
गोरखा–५ को वडाध्यक्ष पदमा ९ जनाले उम्मेदवारी दिएका थिए । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाहेक अन्यको धरौटी रकम जफत भएको हो । जम्मा खसेको १ हजार ३ सय ७३ मतमध्ये १८ मत बदर भएको थियो । त्यसको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी रकम जफत भएको हो ।
‘कुल सदर मतको १० प्रतिशत भनेको १ सय ३६ मत ल्याउनुपर्ने थियो,’ निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘१ सय ३६ मत नकटाउनेको धरौटी रकम जफत भएको छ ।’
सदर मतको १० प्रतिशतभन्दा कम ल्याउने उम्मदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबाबु थापाले ८२ मत प्राप्त गरे भने अन्य पाँच उम्मेदवारले १५ मत पनि कटाउन सकेनन् ।
१० मत प्राप्त गरेका नेपाल समाजवादी पार्टीका रुपेश मग्राती, ९ मत ल्याएका मंगोल नेसनल अर्गनाइजेसनकी भवानी थापा मगर, १२ मत ल्याएकी राप्रपाका कल्पना राना, ५ मत ल्याएका राप्रपा नेपालका रुपसिं राना र ४ मत ल्याएका नेसनल रिपब्लिक नेपालकी सविना तामाङको धरौटी रकम जफत भएको हो ।
