बारपाकमा घाँस काट्न जंगल गएकी महिला मृत फेला

मंसिर १८, २०८१

हरिराम उप्रेती

A woman who had gone to the forest to cut grass was found dead in Barpak

गोरखा — घाँस काट्न जंगल गएकी बारपाक सुलकोट गाउँपालिका–१ बारपाककी १८ वर्षीया सुचिना घलेको खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको छ । शनिबार घाँस काट्न गएकी उनी सम्पर्कविहीन बनेकी थिइन् । 

मंगलबार खोजतलासको क्रममा बारपाकस्थित मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा घलेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । घले सम्पर्कविहीन बनेपछि आफन्तले  खोजतालसका लागि सोमबार प्रहरी चौकी बारपाकमा अनुरोध गरेका थिए ।

बारपाक प्रहरी चौकी र इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले स्थानीयबासिन्दा सँगको सहयोगमा खोजतलासको क्रममा मंगलबार दिउँसो खाल्डोमा पुरिएको अवस्थामा घलेको शव भेटिएको डीएसपी सुवेदीले बताए । घटनाको सूक्ष्म तवरले अनुसन्धान भइरहेको उनले बताए । 

उक्त घटना अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुर सहितको विशेषज्ञ टोली खटाइएको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully