लमजुङमा सार्वजनिक सवारी साधनमा नयाँ भाडादर लागु

अधिकांश रुटको सवारी भाडादर घट्यो

आश्विन २१, २०८१

आश गुरुङ

New fares for public vehicles in Lamjung

लमजुङ — लमजुङमा सोमबारदेखि सार्वजनिक सवारीमा नयाँ भाडादर कायम गरिएको छ ।  अस्थायी राजमार्ग तथा भाडा निर्धारण समितिले गाडी भाडादर पारित गरेसँगै जिल्ला प्रशासन कार्यालयले नयाँ भाडादर लागु भएको जनाएको छ ।

प्रशासनले नयाँ भाडदरभन्दा बढी लिएमा ट्राफिक प्रहरीलाई खबर गर्न भनेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको अध्यक्षतामा आइतबार बसेको सरोकारवाला सम्मिलित बैठकले सार्वजनिक सवारी साधनको नयाँ भाडादर पारित गरेको हो । कतिपय ठाउँमा भाडादर घटाइएको छ । ।

बेंसीसहर–डुम्रे (तनहुँ) बसमा यसअघि १ सय ९५ रुपैयाँ रहेकोमा १ सय ८५ रुपैयाँ कायम गरिएको छ । बेंसीसहर–पाउँदी–राइनासकोट बसमा २ सय ४० रुपैयाँ र जिपमा २ सय ९० रुपैयाँ कायम गरिएको छ ।

बेंसीसहर–तार्कुघाट–प्यारजुङ–जोर्ने (दूधपोखरी गाउँपालिका केन्द्र) सम्म यसअघि बसमा ३ सय ६५ रुपैयाँ रहेकोमा अहिले ३ सय ६० रुपैयाँ र जिपमा ४ सय ३० रुपैयाँ कायम गरिएको छ ।

बेंसीसहर–पाउँदी–तीनपिप्ले (राइनास नगरपालिका केन्द्र) बसमा १ सय र जिपमा १ सय २० रुपैयाँ कायम गरिएको छ । यस्तै बोराङखोला बसमा १ सय ७० र जिपमा २ सय रुपैयाँ कायम गरिएको छ ।

बेंसीसहर–बोराङखोला–बिचौर यसअघि बसमा ५ सय ३० र जिपमा ६ सय ३० रुपैयाँ भाडा थियो । अहिले बसमा ४ सय २० र जिपमा ५ सय ३० रुपैयाँ कायम गरिएको छ । पाउँदी–गौंडा–ताजी–भुम्लीचोक पहिले जिपमा ७ सय ३५ रुपैयाँ रहेकोमा अहिले ६ सय रुपैयाँ कायम गरिएको छ ।

बेंसीसहर–घलेगाउँको यसअघि बसमा ३ सय ७० र जिपमा ४ सय ३५ थियो । अहिले बसमा ३ सय रुपैयाँ र जिपमा ३ सय ८० रुपैयाँ कायम गरिएको छ । बेंसीसहर–भुजुङ यसअघि बसमा ४ सय १५ र जिपमा ५ सय १० रुपैयाँ थियो । अहिले बसमा ४ सय र जिपमा ४ सय ५० रुपैयाँ कायम गरिएको छ ।

बेंसीसहर कमागाउँ बसमा ३ सय ७० र जिपमा ४ सय ५० रुपैयाँ कायम गरिएको छ । जहाँ अहिले बस र जिप नचल्ने र हिउँदमा भुजुङबाट करिब ९ किलोमिटरको दुरीमा कमागाउँ पर्छ ।

बेंसीसहर–मालिङ (क्व्होलासोथार गाउँपालिका केन्द्र) सम्म यसअघि बसमा ३ सय ४० र जिपमा ३ सय ७० रुपैयाँ थियो । अहिले बसमा २ सय ३० र जिपमा ३ सय रुपैयाँ कायम गरिएको थियो ।

रामबजार–मुङ्ग्रेबेंसी पसगाउँ र सिङ्दी दुबै गाउँमा यसअघि बसमा ३ सय ४० रहेकोमा अहिले ३ सय ९० रुपैयाँ बनाइएको छ ।  

बेंसीसहर–सुन्दरबजार (सुन्दरबजार नगरपालिका केन्द्र) सम्म बसमा पहिले ९५ रुपैयाँ रहेकोमा अहिले ८० रुपैयाँ कायम गरिएको छ । बेंसीसहर–खत्रीठाँटी–कुन्छा–दुइपिप्ले–भोर्लेटार (मध्यनेपाल नगरपालिका केन्द्र) को यसअघि बसमा ३ सय रुपैयाँ रहेकोमा अहिले २ सय ८० रुपैयाँ कायम गरिएको छ । तर, बेंसीसहर–खत्रीठाँटी, दुराडाँडा, विमिरेभञ्ज्याङ–भोर्लेटार (मध्यपहाडी लोकमार्गसमेत) को भने कायम गरिएको छैन ।

बेंसीसहर–खुदी–सिउरुङको पहिले जिपमा ५ सय ३० रुपैयाँ रहेकोमा अहिले बसमा ३ सय र जिपमा ३ सय ६० रुपैयाँ कायम गरिएको छ । बेंसीसहर–च्याम्चे (उत्तरी लमजुङको अन्तिम गाउँ) जिपमा पहिले ६ सय ५ रुपैयाँ कायम गरिएकोमा अहिले बसमा ४ सय र जिपमा ५ सय रुपैयाँ कायम गरिएको छ ।

बेंसीसहर–खुदी यसअघि जिपमा ७० र बसमा ६० रुपैयाँ रहेकोमा अहिले बसमा ४० र जिपमा ५० रुपैयाँ कायम गरिएको छ । बेंसीसहर–भुलभुले (मस्याङ्दी गाउँपालिका केन्द्र) को यसअघि बसमा ७५ र जिपमा ९५ रुपैयाँ रहेकोमा अहिले जिपमा ६० र बसमा ५० रुपैयाँ कायम गरिएको छ ।

बेंसीसहर–चामे (मनाङ सदरमुकाम) पहिले जिपमा १ हजार ४ सय ५० रुपैयाँ रहेकोमा अहिले बसमा ९ सय र जिपमा १ हजार २ सय ५० रुपैयाँ कायम गरिएको छ । यद्यपी चामेमा हालसम्म सार्वजनिक बस सञ्चालनमा आएको छैन ।

नागरिकले लमजुङमा यसअघिकै भाडादर पनि कार्यान्वयन नभएको बताएको छ । निर्णय एउटा हुने र व्यावसायीले निर्णयभन्दा बढी भाडा असुल्ने गरेको गुनासो पटक–पटक गर्दै आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले भाडादर सवै यातायात व्यावसायीले कार्यान्वयन गर्ने गरी निर्णय भएको बताए । कार्यान्वयन भएनभएको अनुगमन दैनिक ट्राफिक प्रहरीमार्फत भइरहेको र कार्यान्वयन नभएको अवस्थामा कारबाही गरिने उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully