सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा

आश्विन १५, २०८१

प्रकाश बराल

Devkumar Nepali, who was arrested in cooperative fraud, is in custody for pre-trial detention

बागलुङ — सहकारी ठगी आरोपमा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

मंगलबार भएको थुनछेक बहसपछि नेपालीलाई न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि पठाएको हो ।

मंगलबार नेपालीको तर्फबाट वरिष्ठ अधिवक्ता केशवराज पराजुली र अधिवक्ता राम शर्माले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेशबहादुर खड्का, सरिता केसी र सरकारी वकिल पूर्णप्रसाद शर्माले बहस गरेका थिए । सोही मुद्दाका अर्का आरोपी ओमप्रसाद दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा रिहा गरिएको छ । दर्जी नेपालीका दाजु हुन् । तर उनी सहकारीको बोर्ड सदस्य र कर्मचारी भने होइनन् ।

सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए । गत माघमा नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । आइतबार राति बागलुङ ल्याएपछि प्रहरीले सोमबार बिहान जिल्ला अदालत बागलुङमा हाजिर गराएको थियो । सोमबार बयानपछि मंगलबार नेपालीको मुद्दामा थुनछेक बहस भएको थियो । साँझ ६ बजेमात्र अदालतको आदेश आएको हो ।

नेपाली विरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले आफ्नो बचत रकम ठगी गरेको आरोपमा जाहेरी दिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले ताराबहादुर कुँवर सहितका पीडितको जाहेरीले भन्दै २०८० असार ३१ गते नेपालीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । साउन ४ गतेको आदेशले नेपालीबाहेक संचालक र कर्मचारी समेतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।  

यो मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको २०८० साउन ४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउनमै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर ०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

२०८० वैशाख ७ गते तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि नेपाली बेपत्ता थिए । उनीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखसमेत हुन् । उनले एमालेको तर्फबाट दुईपटकसम्म निर्वाचन जितेर प्रमुख बनेका थिए । जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकोले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाय समेतको माग गरिएको छ । 

त्यस बाहेक सहकारी रजिष्ट्रारको कार्यालयको अध्ययनमा भएअनुसार सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा सहकारीमा गैर शेयर सदस्यलाई आर्कषक व्याजको प्रलोभन देखाइ बागलुङबाट ७ हजार ९४, पोखराबाट २ हजार ६ सय ६१ र गलकोटबाट १ हजार ७ सय ७४ गरी ११ हजार ५ सय २९ जना गैरशेयर सदस्यबाट रकम उठाएको आरोपसमेत छ ।

सहकारी ऐन २०७४ को दफा ३२(२) विपरीत कृत्रिम व्यक्तिलाई सदस्यता प्रदान गरिएको ८७ लाख ५० हजार रुपैयाँलाई दायित्व देखाइ हिनामिना गरेको, कृत्रिम बचत खातामा रकम राखी ६५ करोड कृत्रिम कर्जा भनिएको, वासलातको रकम कागजमा मात्र देखाएर हिनामिना गरेको लगायतको प्रतिवेदनसमेत मुद्दामा उल्लेख गरिएको छ । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully