म्याग्दीमा एक लाख नगद पुरस्कारको फोटो प्रतियोगिता हुँदै

भाद्र १, २०८१

A photo competition with a cash prize of one lakh is being held in Myagdi

म्याग्दी — म्याग्दीको प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले गृहजिल्ला म्याग्दीको पर्यटन प्रर्वद्धन गर्न खुला फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उद्योग वाणिज्य संघ म्याग्दीको सहकार्यमा आयोजना हुन लागेको फोटो प्रतियोगितामा म्याग्दीका धार्मिक, सांस्कृतिक तथा जनजीवन झल्कने र जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान दिन योग्य उत्कृष्ट फोटोलाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो हुने फोटोले ५० हजार र २५ हजार रुपैयाँ पाउने छन् । 

म्याग्दीको परिवेश झल्किने फोटो प्रतियोगितामा सहभागी हुन सक्ने आयोजक मोना अस्ट्रेलियाले शनिबार ‘भिडियो कन्फ्रेन्स’मार्फत जनाएको छ । फोटोसँग सम्बन्धित जानकारी कम्तीमा ५ सय शब्दको हुनुपर्ने बताइएको छ ।

मोना अस्ट्रेलियाको फेसबुक पेजबाट सार्वजनिक गरिने फोटोलाई लाइक, सेयर र कमेन्टका आधारमा मूल्यांकन गरिने प्रवक्ता हिक्मत श्रेष्ठले बताए । भदौ १४ सम्म फेसबुक म्यासेन्जरमार्फत फोटो पठाउन सकिने र भदौ १५ मा संस्थाले प्रतियोगी तस्बिर आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने जनाएको छ । भदौ १९ मा उत्कृष्ट फोटो छनोट गरिने छ । 

‘व्यावसायिक पत्रकारहरूले खिचेका तस्बिरहरूको प्रतियोगिता हैन, बरु जिल्लाका सामान्य व्यक्तिले पनि पर्यटकीय महत्त्व राख्ने आफ्ना गाउँठाउँको फोटो खिच्न सक्छन् भन्ने आधारमा यस्तो प्रतियोगिता गर्न लागेका छौं,’ मोना अस्ट्रेलियाका फोटो प्रतियोगिता संयोजक बाबुराम पौडेलले भने, ‘हामीले जिल्लाका पर्यटकीय गन्तव्य, संस्कृति र स्थलको धेरैभन्दा धेरै प्रचारप्रसार गर्ने उद्देश्य यस्तो प्रतियोगिता गर्न लागेका हौं ।’

Link copied successfully