गोरखा संग्रहालयमा आगन्तुक बर्सेनि बढ्दै

१६ वर्षको अवधिमा मात्र १० लाख ६१ हजार ३ सय ५४ जना आगन्तुकले गोरखा संग्रहालयको अवलोकन गरिसकेका छन् ।

जेष्ठ १९, २०८१

हरिराम उप्रेती

The number of visitors to Gorkha Museum is increasing every year

गोरखा — २०६५ सालबाट सर्वसाधारणका लागि खुला गरिएको गोरखा दरबार संग्रहालय आउने आगन्तुकको संख्या बर्सेनि बढ्दै गएको छ । शनिबार संग्रहालयले १७औं स्थापना दिवस मनाएको छ । संग्रहालय खुला गरिएको सुरुको वर्ष २०६५/०६६ मा ३६ हजार ५ सय २९ जनाले संग्रहालय अवलोकन गरेका थिए ।

 संग्रहालय अवलोकन गर्ने आगन्तुकबाट प्रवेश शुल्क लगायतबाट सुरुको वर्ष ३ लाख ५२ हजार ३ सय ५ रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसयताको वर्ष आगन्तुकसँगै राजस्व रकममा पनि वृद्धि हुँदै गएको संग्रहालयका प्रमुख जयनारायण कार्कीले बताए । गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख २३ हजार ७ सय ३१ जनाले संग्रहालयको अवलोकन गरे । उक्त आर्थिक वर्ष राजस्व रकम पनि २३ लाख ६६ हजार ४ सय ११ रुपैयाँ संकलन भएको उनले बताए । 

१६ वर्षको अवधिमा मात्र १० लाख ६१ हजार ३ सय ५४ जना आगन्तुकले गोरखा संग्रहालयको अवलोकन गरिसकेका छन् । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मात्र १ लाख ४ हजार ३ सय ३५ जनाले संग्रहालय अवलोकन गरिसकेका छन् । चालु आर्थिक वर्षमात्र ३३ हजार ८ सय ५३ जना विद्यार्थीले संग्रहालय अवलोकन गरेको तथ्यांकमा उल्लेख छ । ६९ हजार २ सय ८० नेपाली, १ सय १० जना सार्क राष्ट्र र १ हजार ३ सय ९२ जना विदेशी पर्यटक यो वर्षको १० महिनाको अवधिमा संग्रहालय पुगे ।

२०६५ जेठ १९ गते गोरखा संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्रहालयमा गोरखा राज्यसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्व राख्ने सामग्रीहरु संकलन गरी प्रदर्शनमा राखिएको छ । तत्कालीन अवस्थामा भएका सन्धि सम्झौता, एकीकरण अभियानमा प्रयोग भएका घरेलु हातहतियार, जातजातिले प्रयोग गर्ने पोसाक, तत्कालीन राजाहरुले राज्य विस्तार एकीकरण अभियानमा तैलचित्रमार्फत व्यक्त गरिएको काल्पनिक तैलचिहहरु, पृथ्वीनारायण शाहको  सबैभन्दा लामो (३४ हात भएको) चिना (जन्मकुण्डली) प्रदर्शनमा रहेको छ । पृथ्वीनारायण शाहको दिब्य उपदेशलाई नेपालीकरण गरेर पनि राखिएको छ ।

The number of visitors to Gorkha Museum is increasing every year

कलात्मक भाँडाकुँडा र बाजागाजा, पृथ्वीनारायण शाह गोरखाका राजा हुँदा निस्कन गरेका चाँदिका मोहरहरु पनि प्रदर्शनमा राखिएको छ । प्रदर्शनका लागि र अन्य कक्ष पनि विस्तार गर्दै लैजाने उनले बताए।  संग्रहालय शैक्षिक भ्रमण गर्ने विद्यार्थीको रोजाइमा पनि संग्रहालय पर्ने गरेको छ । 

विद्यार्थीहरुले संग्रहालय अवलोकनबाट गोरखा जिल्लाको ऐतिहासिक, पुरातात्विक राजनीतिक एवम् सांस्कृतिक पक्षबारे बुझ्ने अवसर पाउने छन् । संग्रहालय एक खुला विद्यालय रहेको कार्की बताउँछन् । ‘जहाँ प्रत्यक्षरुपमा आफूले हेरेर इतिहाससहित धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक प्रमाणका आधारमा अध्ययन गर्ने अवसर प्रदान गरिएको हुन्छ,’ उनले भने । 

पुरातत्व विभागका महानिर्देंशक सौभाग्य प्रधानाङ्गको उपस्थितिमा शनिबार संग्रहालयले १७औं स्थापना दिवस मनाएको हो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully